• दुर्घटनाग्रस्त बुद्ध एयरका परिचारिकाले ढोका खोल्न नदिएको आरोप, के भन्छ एयरलाइन्स ?

    • Bishnu GC Bishnu GC
    • २०८२ पुष १९, शनिबार १३:४१ गते
    images

    बुद्ध एयरले झापाको भद्रपुर विमानस्थलमा दुर्घटनाग्रस्त विमानको ढोका ‘विमान परिचारिकाले खोल्न नदिएको’ समाचारप्रति प्रष्टीकरण दिएको छ । विमान कम्पनीले उक्त समाचारप्रति आपत्ति जनाउँदै शुक्रबारको घटनाको वास्तविकता दाबीसहित प्रष्टीकरण दिएको हो ।

    विमानको ढोका खोल्न परिचारिकाको प्रयासबारे पनि बुद्ध एयरले जानकारी दिएको छ । ‘विमान परिचारिकाले सुरक्षा प्रोटोकल पालना गर्दै दायाँपट्टिको ढोकाका लक खोलेका थिए,’ बुद्धले भनेको छ, ‘तर, ‘जाम’ भई नखुलेपछि उनी तत्काल यात्रुहरूलाई पछाडिको ‘सर्भिस ढोका’बाट सुरक्षित बाहिर निकाल्न अग्रसर भएका थिए ।’

    विमान रनवेबाट बाहिर गएपछि बायाँपट्टि खाल्डो र पानी देखिएकाले सुरक्षाका कारण ढोका खोल्न जोखिमपूर्ण रहेको बुद्ध एयरको भनाइ छ ।
    सोही समयमा विमानमा सवार यात्रु उमेश मोक्तानले अगाडिपट्टिको दायाँ ढोका खोल्न र अन्य यात्रुहरूलाई तत्काल बाहिर निकाल्न महत्वपूर्ण सहयोग पु¥याएको बुद्ध एयरले जनाएको छ ।

    ‘संकटको घडीमा देखाउनुभएको साहस र सहयोगका लागि हामी यात्रु उमेश मोक्तानप्रति हार्दिक आभार प्रकट गर्दछौं,’ विमान कम्पनीले भनेको छ, ‘बुद्ध एयर उहाँको यस कार्यको कदर गर्दै उचित पुरस्कारद्वारा सम्मानित गर्ने घोषणा समेत गर्दछ ।’

    प्रतिक्रिया दिनुहोस्