• images

    पढ्न भनेर काठमाडौँ छिरेकी सुन्दरीको यात्रा, जेलको कालकोठरी

    • chautaripatrika chautaripatrika
    • २०८२ पुष १५, मंगलवार २२:५७ गते
    images

    काठमाडौँको किर्तिपुर नगरपालिका–५ का ५० वर्षीय विनोद खड्गीको हत्यामा संलग्न तीन जनालाई जन्मकैदको सजाय भएको छ ।

    खड्गीलाई हनी ट्रयापमा पार्ने मुख्य अभियुक्त सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका–२ घर भई हाल मध्यपुर ठिमी नगरपालिका–९ बस्ने मनिषा महत, महोत्तरी जिल्ला गौशला नगरपालिका–६ घरभई हाल भक्तपुर कौशलटार बस्ने आशिष पासवान र बाग्लुङ गलकोट नगरपालिका–७ घरभई हाल काठमाडौँ कोटेश्वर बस्ने प्रतिक गौतमलाई जन्मकैदको फैसला भएको हो ।

    काभ्रेपलाञ्चोक जिल्ला अदालतका न्यायाधीश नगेन्द्रकुमार कालाखेतीको इजलासले महत, पासवान र गौतमलाई जन्मकैदको फैसला गरेको अदालतका स्रेस्तेदार इन्दिरा कार्कीले जानकारी दिइन् ।

    उनीहरुबाट २—२ लाख रुपैयाँका दरले जरिवानाको फैसला पनि अदालतले गरेको छ । उनीहरुबाट जनही २८०० रुपैयाँ पीडित राहत कोषमा जम्मा गराउने आदेश पनि अदालतले दिएको छ । यो प्रकरणमा मतियारको रुपमा मुद्दा चलाइएका काठमाडौँ शङ्करापुर नगरपालिका–५ का सरिन घिमिरेलाई पनि अदालतले दोषी ठहर गरेको छ ।

    उनलाई सजाय निर्धारणका लागि अर्को पेशी तोकिएको छ । यो प्रकरणमा संलग्न भनिएका अंशु खान र शिवम सिं राजपुत फरार रहेका छन् भने अन्य प्रतिवादीहरु रोशनी महत, सञ्जय खत्री, मेनुका महत र दिपेश पौडेलले सफाई पाएका छन् ।

    यस्तो थियो घटना

    सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका-२ घर भएकी २१ वर्षीया मनीषा महत उच्च शिक्षा हासिल गर्ने भन्दै काठमाडौँ आउँछिन्। काठमाडौँ आएर भक्तपुरको मध्यपुर ठिमि नगरपालिका-९, राधेराधेस्थित एउटा घरमा भाडामा बस्न थाल्छिन्।

    सिन्धुपाल्चोकबाट उच्च शिक्षाका लागि काठमाडौं छिरेकी मनिषा पढाई भन्दा पनि अब कसरी रातारात पैसा कमाउने भन्ने ध्याउन्नमा लागिन् । त्यसका लागि उनी युवाहरुको ‘ग्याङ’ भित्रै प्रवेश गरिन् ।

    यसै क्रममा उनको चिनजान अंशु खान र शिवम सिं राजपुत नाम गरेका २ भारतिय युबकसंग हुन्छ । अब यी तीन जना मिलेर पैसा कमाउने जुक्ति निकाल्न थाल्छन्। मनीषा २०८१ जेठमा भारतको दिल्ली जान्छिन्। त्यहाँ धनी पैसावालाहरूलाई ‘हनी ट्रयाप’मा पारेर असुली धन्दा गर्ने उनीहरूको योजना हुन्छ। मनीषा, अंशु र शिवम मिलेर भारतको ग्रेटर नोएडामा तुसार नाम गरेका एक भारतीय व्यक्तिलाई फसाउँछन्। कुटपिट गर्छन् र फिरौती रकम १ लाख ५० हजार भारु असुल्छन्।

    त्यसपछि “नेपालमा यस्तो ‘मुर्गा’ भेटिँदैनन्?” भनेर अंशु र शिवमले मनीषालाई प्रश्न गर्छन्। मनीषाले “टन्नै भेटिन्छन्” भनेपछि उनीहरू २०८१ साउनमा नेपाल आउँछन्। नेपालमा पनि धनी व्यक्तिहरूलाई यौन कुण्ठामा पारी रकम लुट्ने उनीहरूको योजना बन्छ।

    त्यही बीचमा कीर्तिपुर नगरपालिका-५ का विनोद खड्गी मनीषाको सम्पर्कमा आउँछन्। विनोद वधशाला सञ्चालक हुन्छन्। मनीषाको रूपरङ्ग देखेर विनोद मोहित हुन पुग्छन्। विनोदलाई मनीषाले जालमा पार्दै लान्छिन्। विनोद कैयौँ पटक मनीषाको रुममा बस्छन्। यो निरन्तरता २०८१ असोज ४ गतेसम्म चल्छ।

    अब आउँछ त्यो घडी, जसको लागि मनीषाको ग्याङले लामो समयदेखि प्रतीक्षा गरेको हुन्छ। असोज ५ गते बिहान १० बजे मनीषाले विनोदलाई फोन गर्छिन्। “मेरो नागरिकताको प्रतिलिपि बनाउनु छ, सिन्धुपाल्चोक जाऔँ” भन्छन्। विनोदले सहजै स्वीकार गर्छन्। आफ्नो किया कम्पनीको कार लिएर ११:३० बजे भक्तपुर उनको कोठामा पुग्छन् विनोद। उनी पुग्दा मनीषा खाना पकाउँदै गरेकी हुन्छिन्। खाना खाएर जाने भन्दै उनलाई बसाउँछिन्। खाना पाक्दै गर्दा मनीषाले विनोदलाई मदिरा र अण्डाको व्यवस्था गरिदिन्छिन्। विनोद खाँदै अर्को कोठामा बसिरहेका हुन्छन्।

    खाना पाक्दै गर्दा मनीषाले “खुर्सानी छैन रहेछ, म लिएर आउँछु” भन्दै बाहिर निस्किन्छिन्। बाहिर निस्किएर उनले अंशु र शिवमलाई फोन गर्छिन्— “सबै तयार छ, ५ मिनेटभित्र आउनू।”

    अंशु र शिवमसँगै अब यो ग्याङमा अन्य ३ जना सरिन घिमिरे, प्रतिक गौतम र आशिष पासवान पनि जोडिएका हुन्छन्। उनीहरू हिमालय गेटमा बसेका हुन्छन्। मनीषाको इसारा पाउनेबित्तिकै सबै जना मनीषाको डेरा तर्फ लाग्छन्। उनीहरूले पहिले नै योजना बनाइसकेका हुन्छन्— कोठामा पुगेर ढोका खोल्नेबित्तिकै विनोदलाई आक्रमण गर्ने।

    पहिला प्रतिक र शिवम कोठामा पुग्छन्। उनीहरूले त्यहाँ पुगेपछि पूर्वयोजना अनुसार विनोदलाई लाठी र मुक्काले शरीरको संवेदनशील भागमा प्रहार गरी सख्त घाइते बनाउँछन्। लगत्तै अन्य तीन जना पनि भित्र छिर्छन् र विनोदमाथि आक्रमण गर्न थाल्छन्। उनिहरुको अगाडि विनोदले केही प्रतिक्रिया जनाउन सक्दैनन् र उनी बेहोस हुन्छन्। केही समयपछि विनोद होसमा आउँछन्।

    अब सुरु हुन्छ फिरौतीको बार्गेनिङ। सुरुमा सबैले ३० लाख माग्ने सल्लाह गर्छन्, तर मनीषाले “३० लाख बढी भयो” भन्दै १० लाखसम्म माग गर्छिन्। विनोदले “मसँग त्यति पैसा छैन, ५ लाख चाहिँ भर्खरै मगाएर दिन तयार छु” भन्छन्।

    मनीषाको ग्याङ सहमत भएपछि विनोदले आफ्नै मोबाइलबाट फोन गर्न खोज्छन्। तर मोबाइल ह्याङ भएपछि अंशुको फोनमा आफ्नो सिम राखेर वधशालामा काम गर्ने कर्मचारी प्रदीप थापा मगरलाई फोन गर्छन्। “तत्काल ५ लाख रुपैयाँ चाहियो, भक्तपुरको राधेराधे भाटभटेनी अगाडि R15 मोटरसाइकलमा आउने व्यक्तिलाई उक्त रकम दिनू” भन्छन्। साँझ ५:१० बजे पैसा लिएर प्रदीप उक्त स्थानमा पुग्छन्।

    पैसा दिएपछि उनीहरुले विनोदलाई मार्ने योजना बनाएर राती १० बजे सुर्यविनायक गणेश मन्दिर हुँदै गुन्डु तर्फ जाने पक्की सडक खण्डमा लगेर ईटाले छातिमा हानी हत्या गरेको  र साँगा धुलिखेल हुँदै पाँचखाल स्थित ४९ किलो स्थित अरनिको राजमार्गबाट ८ मिटर तल झाडीमा लाश फालेका थिए । 

    प्रतिक्रिया दिनुहोस्