• images

    युवा संघद्वारा कोहलपुर उद्योग वाणिज्य संघलाई दबाब: महोत्सवलाई ‘कमाईको भाँडो’ नबनाउन र स्वच्छ प्रतिस्पर्धा सुनिश्चित गर्न माग…

    • chautaripatrika chautaripatrika
    • २०८२ मंसिर २२, सोमबार २३:३७ गते
    images

    बाँके । राष्ट्रिय युवा संघ नेपाल, जिल्ला कमिटी बाँकेले कोहलपुर उद्योग वाणिज्य संघको आयोजनामा आगामी पौष ९ गतेदेखि १८ गतेसम्म सञ्चालन हुने कोहलपुर महोत्सव २०८२ विरुद्ध ज्ञापनपत्र बुझाउँदै अव्यवस्था तत्काल रोक्न माग गरेको छ। संघले महोत्सवको संस्थागत मर्मविपरीत अपारदर्शी, पक्षपात र बिधिको शासनको बर्खिलाप काम भएको भन्दै घोर भर्त्सना गरेको छ।

    युवा संघले जारी गरेको ज्ञापनपत्रमा भनिएको छ, सिमित स्वार्थ समूह र ठेकेदारहरूले ‘कमिशनको खेल’ मा मेला सुम्पेर कु-चेष्टा गरिएको छ। स्थानीय उत्पादन, उद्योग तथा व्यापारको प्रवर्द्धनका लागि आयोजना गरिनुपर्ने महोत्सवलाई आज सिमित ठेकेदारको कमाइ गर्ने भाँडोको रूपमा निर्माण गर्ने कार्य र प्रवृद्धिका विरुद्धमा राष्ट्रिय युवा संघ नेपाल बाँकेले घोर निन्दा गर्दछ।

    संघले महोत्सवलाई पारदर्शी, निष्पक्ष र स्वच्छ प्रतिस्पर्धाको बाटोबाट सरोकारवाला सबै पक्षसँग समन्वयका माध्यमबाट सञ्चालन र व्यवस्थापन गर्ने प्रक्रिया अगाडि बढाउन अनुरोध गरेको छ।

    युवा संघले जनताको जनजीविका, सामाजिक न्याय, सुशासन र मौलिक हकको रक्षार्थ शान्तिपूर्ण आन्दोलनमार्फत आवाज विहीन जनताको आवाजलाई बुलन्द गर्दै आएको इतिहास स्मरण गराएको छ।

    हाम्रो आग्रहलाई बेवास्ता गरी गलत तरिका र विधि-विपरीत मेला सञ्चालन गर्ने वा नजरअन्दाज गरिए राष्ट्रिय युवा संघ नेपाल बाँके चुप लागेर नबस्ने र आवश्यक कदम चाल्ने चेतावनी दिएको छ। यसबाट हुने घटना वा दुर्घटनाको सम्पूर्ण क्षतिको जिम्मेवारी सम्बन्धित निकायमा हुने चेतावनीसमेत ज्ञापनपत्रमार्फत दिइएको छ।

    ज्ञापनपत्रको बोधार्थ नगर विकास कार्यालय विकास समिति, कोहलपुर, कोहलपुर नगरपालिका, उद्योग वाणिज्य संघ र कोहलपुर वडा ११ वडा कार्यालय लाई पठाइएको छ।

    प्रतिक्रिया दिनुहोस्