• images

    कोहलपुरमा प्रहरीले यसरी गर्दैछ २४ सै घण्टा निगरानी…

    • chautaripatrika chautaripatrika
    • २०८३ श्रावण १५, शुक्रबार २२:४७ गते
    images

    के तपाईँ बाँके कोहलपुरका सार्वजनिक स्थानमा गलत कार्य गर्दै हुनुहुन्छ? अथवा सडकमा ट्राफिक नियमको उल्लङ्घन गर्दै हुनुहुन्छ? यदि गर्दै हुनुहुन्छ भने सावधान, प्रहरी तपाईँलाई पछ्याउँदै तपाईँकै घरसम्मै पुग्न सक्छ।
    तपाईँ गलत कार्य गरेर प्रहरीलाई छलेर भाग्छु भन्ने सोचिरहनुभएको छ भने पूरै भ्रममा हुनुहुन्छ, किनकि तपाईँ क्लोज सर्किट टेलिभिजन अर्थात् (सिसिटिभी) क्यामेराको कडा निगरानीमा हुनुहुन्छ।

    इलाका प्रहरी कार्यालय कोहलपुरले नगरका अति व्यस्त स्थल, संवेदनशील क्षेत्र र प्रमुख सडकहरूमा जडान गरिएका ८० भन्दा बढी अत्याधुनिक सिसि क्यामेराहरूबाट चौबीसै घण्टा निगरानी बढाएको छ।

    सिसिटिभीले नागरिकलाई सार्वजनिक स्थानमा गलत कार्य नगर्न सचेत गराउनुका साथै घटना घटिसकेपछि रेकर्डमार्फत अध्ययन-अनुसन्धान गर्न र दोषीलाई कारबाहीको दायरामा ल्याउन निकै प्रभावकारी काम गरिरहेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) चक्र डमरपालले बताए।

    “पुराना क्यामेराको क्षमता केही कम भए पनि नयाँ जडान गरिएका क्यामेरा अत्यधिक क्षमतायुक्त र प्रविधिसम्पन्न रहेका छन्,” उनले भने, “जिसले गर्दा कुनै पनि शङ्कास्पद गतिविधि क्यामेरामा देखिएमा तुरुन्तै प्रहरी परिचालन गर्नेदेखि सडकको अस्तव्यस्तता र दुर्घटना नियन्त्रणमा ठूलो सहयोग पुगेको छ।”

    सुरक्षा व्यवस्थालाई पूर्ण रूपमा प्रविधिमैत्री बनाउन हाल कोहलपुरका विभिन्न क्षेत्रमा यस्ता ३ किसिमका अत्याधुनिक क्यामेराहरू जडान गरिएका छन्। जसमा पहिलो नम्बरमा सवारी साधनको नम्बर प्लेट सजिलै पढ्न सक्ने ४ वटा अटोमेटिक नम्बर प्लेट रिकग्निसन अर्थात् ‘एएनपिआर’ क्यामेरा रहेका छन्।

    नगरका मुख्य ठाउँमा राखिएका यी क्यामेराले तीव्र गतिमा हुइँकिएका सवारी साधनहरूको नम्बर प्लेट क्षणभरमै रिड गरी तस्बिरसहित डाटा सुरक्षित राख्न सक्छन्। यसले गर्दा सडकमा दुर्घटना गराएर भाग्ने, सवारी चोरी गरेर लैजाने, वा कुनै ठूलो अपराध गरेर गाडी वा मोटरसाइकलमा उम्किन खोज्ने चालकहरूलाई प्रहरीले तत्काल पहिचान गरी नियन्त्रणमा लिन सक्छ।
    दोस्रोमा, ६० भन्दा बढी स्थानमा ‘पिटिजेट’ क्यामेराहरू जडान गरिएका छन्। ३६० डिग्रीसम्म घुम्न सक्ने यी क्यामेराहरूमा टाढाको दृश्यलाई पनि नजिकै ल्याएर एकदमै स्पष्ट रूपमा जुम गरी हेर्न सक्ने क्षमता हुन्छ।
    बजार क्षेत्र, बसपार्क र बढी भीडभाड हुने स्थानमा शङ्कास्पद रूपमा हिँडडुल गर्ने व्यक्ति, सडकमा झैझगडा गर्ने र बाटोमा हिँड्ने सर्वसाधारणलाई सास्ती दिने उच्छृङ्खल तत्त्वहरूको अनुहार र हुलिया यसले मसिनो गरी कैद गर्न सक्छ, जसले गर्दा अपराधीले भीडको फाइदा उठाएर लुक्न पाउँदैन।
    तेस्रोमा, निश्चित क्षेत्रको निरन्तर निगरानीका लागि १५ भन्दा बढी स्थानमा फिक्स क्यामेराहरू जडान गरिएका छन्। चोकहरूमा राखिएका यी क्यामेराहरूमा रातको समयमा पनि प्रष्ट फुटेज खिच्न सक्ने उच्च क्षमताको ‘नाइट भिजन’ प्रविधि हुन्छ।

    यसले अँध्यारोको फाइदा उठाएर अपराध वा उच्छृङ्खल गतिविधि गर्नेहरूलाई नियन्त्रणमा लिन सजिलो हुन्छ। यी सबै प्रविधियुक्त क्यामेराहरू मार्फत इलाका प्रहरी कार्यालय कोहलपुरले आफ्नो कन्ट्रोल रुमबाट चौबीसै घण्टा प्रत्यक्ष कडा निगरानी गरिरहेको छ। कन्ट्रोल रुममा ठूला स्क्रिन अगाडि रातदिन तैनाथ रहने प्रहरी टोलीले सिङ्गो नगरको शान्ति सुरक्षा, सडकको अस्तव्यस्तता र शङ्कास्पद गतिविधिलाई पलपलमा नियालिरहेको हुन्छ।

    प्रतिक्रिया दिनुहोस्