२०८२ भदौ २३ गते काठमाडौँ उपत्यकामा जेन्जी प्रदर्शनले उग्र रूप लिएपछि परिस्थिति प्रहरीको नियन्त्रण बाहिर पुग्यो। गोली चल्ने र १९ जना जेन्जी युवाहरूको ज्यान जाने दुखद् घटना भएपछि सडकमा जनआक्रोश उत्कर्षमा पुग्यो। प्रदर्शनकारीको निशानामा प्रहरी पर्दा कतिपय क्षेत्रमा भागाभागको स्थिति बन्यो भने प्रहरी बिट तथा गाडीहरूमा तोडफोड र आगजनी भयो।
१९ जनाको मृत्युपछि भोलिपल्ट अर्थात् भदौ २४ गते उपत्यकामा अझ ठूलो भयावह स्थिति सिर्जना हुने निश्चित भइसकेको थियो। एकातिर २३ गतेकै घटनाका कारण काठमाडौँ उपत्यका प्रहरी कार्यालय (रानीपोखरी) को कमाण्ड अस्तव्यस्त बनेको थियो भने अर्कोतिर २४ गते सडकमा आक्रोशको आगो अझै सल्किने पक्का थियो।
त्यस्तो विस्फोटक सुरक्षा जोखिम र सडकको त्रासका कारण रानीपोखरी छिरेर कमाण्ड सम्हाल्न उच्च प्रहरी अधिकारीहरू तयार भइरहेका थिएनन्। ठीक त्यही भयावह बन्ने पक्का भएको संकटपूर्ण बिहानीमा, प्रहरी प्रधान कार्यालयको मानव स्रोत विकास विभागमा कार्यरत तत्कालीन एआईजी दानबहादुर कार्कीले उपत्यकाको कमाण्ड सम्हाले।
जिम्मेवारी सम्हालेलगत्तै दानबहादुर कार्कीले फिल्डमा गोली नचलाउने र स्थिति थप नभड्काउने नीति लिए। तर २३ गतेको आक्रोशका कारण २४ गते पनि काठमाडौँमा प्रहरीहरू आन्दोलनकारीको सोझो निशानामा परे। भदौ २४ गते दिनभर उपत्यकामा प्रहरीलाई लखेटी-लखेटी कुटिने, प्रहरी बिट तथा विभिन्न भवन र कार्यालयहरूमा तोडफोड एवम् आगजनी गर्ने क्रम रोकिएन।
सडकमा आक्रोशित भीडको आँधीबीच प्रहरीहरू पूर्ण रूपमा रक्षात्मक बनेर ज्यान बचाउन भाग्नुपर्ने अवस्था आयो। त्यसक्रममा प्रहरीका हातहतियारदेखि पोसाकसमेत खोसिए। त्यही उग्र प्रदर्शन र देशभर फैलिएको आन्दोलनको रापले अन्ततः जेन्जी आन्दोलनलाई सफलताको बिन्दुमा पुर्यायो र देशमा सत्ता समीकरण नै फेरिने गरी ठूलो राजनीतिक परिवर्तन भयो।
जेन्जी आन्दोलनले सफलता पाएपछि मुलुकमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन भयो। त्यसै समय तत्कालीन प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङ आफ्नो नियमित पदावधिको कारण अवकाशमा जाँदै थिए।
आन्दोलनको भयंकर धक्काले मुलुकको शान्ति-सुरक्षा डामाडोल भएको, सडकमा प्रहरीको साख धूलीसात भएको र प्रहरी जवानहरूको मनोबल शून्यमा झरेको अत्यन्तै संवेदनशील र जोखिमपूर्ण अवस्था थियो। त्यस्तो परिस्थितिमा सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले दानबहादुर कार्कीलाई नेपाल प्रहरीको ३३औँ महानिरीक्षकमा नियुक्त गर्यो।
अन्तरिम सरकारसामु तोकिएको मुख्य म्यान्डेट २०८२ फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन निष्पक्ष र शान्तिपूर्ण गराउनु थियो। तर, परिस्थिति बेहद त्रासदीपूर्ण थियो। भदौ २३ र २४ गतेको विध्वंशका क्रममा लुटिएका प्रहरीका हातहतियार पूर्ण रूपमा सङ्कलन भइसकेका थिएनन् भने फिल्डमा खटिने प्रहरीको मनोबल पनि उठिसकेको थिएन। यस्तो अवस्थामा “शान्तिपूर्ण चुनाव सम्भव छ” भन्ने ठूलो भय र आशङ्का थियो।
तर, प्रहरी सङ्गठनको सर्वोच्च नेतृत्वमा आएपछि दानबहादुर कार्कीले सुझबुझ र कडा कमाण्ड कन्ट्रोल प्रदर्शन गरे। उनले पहिलो काम नै सडकमा लखेटिएका र हतोत्साहित बनेका तल्लो तहका प्रहरी जवानहरूमा ‘व्यावसायिकता र सुरक्षाको भरोसा’ जगाउने गरे।
बाहिरिएका हतियार तथा सञ्चार सेटहरू खोजी गरी पुनः नियन्त्रणमा लिने, प्रहरी सञ्जाललाई पुनर्गठित गर्ने र सीमित स्रोत-साधनकै बिच देशभर सुरक्षाको कडा घेरा तयार पार्ने काम उनको नेतृत्वमा भयो।
नतिजास्वरूप, जुन निर्वाचन निष्पक्ष र शान्तिपूर्ण रूपमा हुने आशङ्का थियो, फागुन २१ गतेको निर्वाचन देशभर पूर्ण रूपमा शान्तिपूर्ण रूपमा सम्पन्न भयो। निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दुई-तिहाइ नजिक बहुमत ल्यायो र बालेन शाहको नेतृत्वमा नयाँ सरकार बन्यो।
त्यही बालेन्द्र शाहको नेतृत्वको सरकारले बुधबार उनलाई झन्डै १७ महिना कार्यकाल बाँकी छँदै जिम्मेवारीबाट हटाउँदै एआईजी मनोज केसीलाई आईजीपी बनाएर आफुलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकार बनाएपछि कार्की अहिले पुनर्बहालीको माग राखेर सर्वोच्च अदालत जाँदै छन्।


ओम डिसी 











प्रतिक्रिया दिनुहोस्