भारत : ‘छ महिनादेखि सहँदै आएकी छु… अब सहन गर्न सक्दिनँ ।’ यी शब्दहरू भारत देहरादूनकी ३० वर्षीया सरकारी शिक्षिका सृष्टि कण्डारीले आफ्नो पीडा व्यक्त गर्दै भनेको भिडियोमा सुनिन्छ ।
सामाजिक सञ्जालमा भाइरल भइरहेको उक्त भिडियोमा उनी रोइरहेको अवस्थामा श्रीमान् र घरका सदस्यहरुबाट भएको कथित दुर्व्यवहारबारे बताइरहेकी देखिन्छिन् ।
भिडियो सार्वजनिक भएपछि उनले झुण्डिएर आत्महत्या गरेको बताइएको छ । देहरादूनको हर्रावालास्थित दिल्ली फार्म क्षेत्रमा बुधबार सृष्टि शंकास्पद अवस्थामा मृत फेला परेकी थिइन् । श्रीनगर (गढवाल) मा कार्यरत सरकारी शिक्षिका सृष्टिको विवाह नोभेम्बर २०२५ मा उत्तराखण्ड सचिवालयमा निजी सचिवका रूपमा कार्यरत सौरभ खत्रीसँग भएको थियो । विवाह भएको करिब आठ महिनामै जुलाई २९ मा उनको जीवन दुःखद रूपमा अन्त्य भएको हो।
भाइरल भिडियोमा सृष्टिले के भनिन् ?
सामाजिक सञ्जालमा भाइरल भएको करिब एक मिनेटभन्दा छोटो भिडियोमा सृष्टि अत्यन्तै भावुक र रोइरहेको देखिन्छिन् । उक्त भिडियोको सत्यता स्वतन्त्र रूपमा पुष्टि गरिएको छैन ।
भिडियोमा उनले आमालाई सम्बोधन गर्दै भनिरहेको सुनिन्छ, ‘सरी मम्मी… म यहाँबाट जाँदैछु । धेरै अनौठो भइरहेको छ । छ महिनादेखि सहँदै आएकी छु, अब सहन गर्न सक्दिनँ । यी मानिसहरू कहिल्यै सुध्रिने छैनन् । मलाई लाग्थ्यो, अब ठीक हुन्छ… पछि ठीक हुन्छ… तर हरेक दिन मलाई ‘अलछिना’ भनेर अपमान गरिन्छ ।’
प्रहरीले के भन्यो ?
प्रहरीका अनुसार, बुधबार देहरादूनको एक निजी अस्पतालबाट सृष्टिको मृत्यु भएको सूचना प्राप्त भएपछि प्रहरी अस्पताल पुगेको थियो । शवलाई पोस्टमार्टमका लागि पठाइएको छ । यसैबीच, मृतककी आमा सीमा कण्डारी, श्रीकोट (श्रीनगर) निवासी, ले छोरीको मृत्यु हत्या भएको दाबी गर्दै ससुराली पक्षविरुद्ध गम्भीर आरोप लगाएकी छन् ।
ससुरालीमाथि दाइजोका लागि यातना दिएको आरोप
सीमाले प्रहरीमा दिएको उजुरीमा विवाहपछि नै आफ्नी छोरीलाई दाइजोको माग गर्दै मानसिक तथा शारीरिक रूपमा निरन्तर यातना दिइएको उल्लेख गरेकी छन् । उजुरीअनुसार, श्रीमान् सौरभ खत्री, सासु परवीना देवी र नन्द चारुले सृष्टिलाई निरन्तर अपमान गर्ने, ‘अलछिना’ भन्दै मानसिक यातना दिने गरेका थिए । उक्त उजुरीका आधारमा प्रहरीले तीनै जनाविरुद्ध दाइजो हत्यासहित विभिन्न कानुनी धाराअन्तर्गत मुद्दा दर्ता गरेको छ ।
सृष्टिलाई सबैभन्दा पहिले श्रीमानले देखेका थिए ,हर्रावाला प्रहरी चौकीका इन्चार्ज कमलेश गौडका अनुसार, प्रारम्भिक अनुसन्धानमा जुलाई २६ मा सृष्टिका ससुरको निधन भएपछि उनी ससुराल पुगेकी थिइन् । श्रीमान सौरभले प्रहरीलाई दिएको बयानअनुसार, जुलाई २९ को बिहान सृष्टि घरको दोस्रो तलाको कोठामा गएकी थिइन् । केही समयपछि उनी त्यही कोठामा साडीको पासो लगाएर झुण्डिएको अवस्थामा फेला परिन् । उनलाई तल झारेर सीपीआर दिइयो, तर अवस्था सुधार नभएपछि निजी अस्पताल लगिएको थियो, जहाँ उपचारका क्रममा उनको मृत्यु भयो ।


chautaripatrika 














प्रतिक्रिया दिनुहोस्