• images
    images

    सुनसरी घटनापछि पूर्वराजा ज्ञानेन्द्रको आह्वान : ‘हामी नेपाली मिलौं, सामाजिक सद्भाव जोगाऔं’

    • chautaripatrika chautaripatrika
    • २०८३ श्रावण १४, बिहीबार १६:१९ गते
    images
    images
    images
    images

    सुनसरीको देवानगञ्ज–३ कप्तानगञ्जमा भएको हिंसात्मक घटनापछि पूर्वराजा ज्ञानेन्द्र शाहले सामाजिक सद्भाव कायम राख्न सबै नेपालीलाई आग्रह गरेका छन्।निर्मल निवासबाट बिहीबार जारी सद्भाव सन्देशमा पूर्वराजा शाहले नेपाली समाज बहुजातीय, बहुभाषिक र बहुधार्मिक रहेको उल्लेख गर्दै आपसी एकता र सहिष्णुता नै नेपालको विशेषता भएको बताएका छन्।

    “हामी नेपालीहरू नेपाल निर्माणको सुरुवात समयदेखि नै परस्पर मिलिजुली, हाँसीखुसी एक अर्कामा माया र प्रीति गाँसी रहँदै आएका जातजाति हौं,” सन्देशमा भनिएको छ।

    उनले नेपालको धार्मिक, सांस्कृतिक र सामाजिक विविधतालाई विश्वमै सम्मानित विशेषता भन्दै यसलाई कमजोर पार्ने कुनै पनि गतिविधि स्वीकार्य नहुने बताएका छन्।

    केही दिनअघि सुनसरी जिल्लाका केही गाउँबस्तीमा भएको आपसी द्वन्द्व र विवादबाट जनधनको क्षति भएको तथा त्यसको असर कोशी क्षेत्र र तराईका विभिन्न भागमा फैलिँदै गएकोप्रति उनले दुःख व्यक्त गरेका छन्।

    पूर्वराजा शाहले यस्ता घटनाले नेपालको मौलिक मूल्य र मान्यतामाथि चोट पुर्‍याउने भन्दै सबै पक्षलाई संयम अपनाउन आग्रह गरेका छन्।
    “जुनसुकै भू–भागमा रहे बसेका जो कोही पनि हामी नेपाली मिलौं। हाम्रो यही आग्रह छ। यही आजको आवश्यकता हो,” सन्देशमा उल्लेख छ।
    पूर्वराजा शाहले जय नेपाल भन्दै सन्देशको अन्त्य गरेका छन्। सन्देश निर्मल निवासबाट २०८३ साल श्रावण १४ गते जारी गरिएको हो।

    प्रतिक्रिया दिनुहोस्