• चिकित्सकमाथिको आक्रमणविरुद्ध आन्दोलन थप कडा बनाउँदै नेपाल चिकित्सक संघ

    • chautaripatrika chautaripatrika
    • २०८३ श्रावण १३, बुधबार ०८:४१ गते
    images

    नेपाल चिकित्सक संघले वीरगञ्जस्थित नारायणी अस्पतालमा चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमणका दोषीमाथि कानुनी कारबाहीमा ढिलाइ भएको भन्दै आन्दोलनका कार्यक्रम थप कडा बनाएको छ। संघले बुधबार (साउन १३) देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै स्वास्थ्य सेवा बन्द गर्ने घोषणा गरेको छ।

    संघले मंगलबार जारी प्रेस विज्ञप्तिमा घटना भएको चार दिन बितिसक्दा पनि दोषीविरुद्ध मुद्दा दायर गरी कानुनी कारबाही नगरिएको भन्दै सरकार र स्थानीय प्रशासनको भूमिकाप्रति गम्भीर असन्तुष्टि जनाएको छ। साथै, घटनाको विरोध गर्न जिल्ला प्रशासन कार्यालय पुगेका चिकित्सकमाथि पर्साका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखबाट दुर्व्यवहार भएको आरोप लगाउँदै त्यसलाई अत्यन्तै लज्जास्पद भएको उल्लेख गरेको छ।

    मंगलबार संघको केन्द्रीय कार्यालयमा पूर्वअध्यक्ष, पूर्वमहासचिव, वरिष्ठ चिकित्सक, अस्पताल निर्देशक, विभिन्न विशेषज्ञ समाज, आवासीय चिकित्सक तथा स्वास्थ्यकर्मीहरूसँग भएको छलफल र केन्द्रीय कार्यकारिणी समितिको आकस्मिक बैठकपछि आन्दोलनका थप कार्यक्रम सार्वजनिक गरिएको संघले जनाएको छ।

    घोषित कार्यक्रमअनुसार साउन १३ गते बुधबार देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै स्वास्थ्य सेवा बन्द गरिनेछ। सोही दिन बिहान १० बजे काठमाडौं उपत्यकाभित्रका चिकित्सक तथा स्वास्थ्यकर्मीहरू माइतीघर मण्डलामा भेला भएर विरोध प्रदर्शन गर्नेछन्। उपत्यकाबाहिरका चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाउने र आफ्ना कार्यस्थलमा कालोपट्टी बाँधेर विरोध प्रदर्शन गर्ने कार्यक्रम तय गरिएको छ।

    नेपाल चिकित्सक संघले आन्दोलनमा विभिन्न विशेषज्ञ समाज, एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन अफ नेपाल (अफिन) तथा स्वास्थ्य क्षेत्रमा क्रियाशील सम्पूर्ण संघ–संस्थाका चिकित्सक र स्वास्थ्यकर्मीलाई सहभागी हुन आह्वान गरेको छ।

    आन्दोलनका कारण सर्वसाधारणमा पर्न सक्ने असुविधाप्रति क्षमायाचना गर्दै संघले त्यसको सम्पूर्ण जिम्मेवारी नेपाल सरकारले लिनुपर्ने जनाएको छ।

    प्रतिक्रिया दिनुहोस्