जिल्ला प्रहरी कार्यालय रुपन्देहीको ‘घुमुवा प्रहरी’ भन्दै नक्कली पेस्तोल तेर्स्याएर सर्वसाधारणसँग जबर्जस्ती रकम असुली गरिरहेको अवस्थामा एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
पक्राउ पर्नेमा सिद्धार्थनगर नगरपालिका–१३ शान्तिनगर स्थायी घर भई हाल ओमसतिया गाउँपालिका–४ बालापुरमा कोठा भाडामा बस्दै आएका ४९ वर्षीय राकेश प्रताप राणा रहेका छन्।
शुक्रबार (साउन ८ गते) साँझ करिब ७:३० बजे भैरहवा बजार क्षेत्रमा राणाले आफूलाई जिल्ला प्रहरी कार्यालयको घुमुवा प्रहरी भएको दाबी गर्दै नक्कली पेस्तोल देखाएर सर्वसाधारणलाई तर्साउँदै १० हजार रुपैयाँ मागिरहेको विशेष सूचना प्रहरीले पाएको थियो। लगत्तै जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट प्रहरी निरीक्षकको कमाण्डमा खटिएको विशेष टोलीले उनलाई नियन्त्रणमा लिएको हो।
पक्राउ परेका राणाको शरीर र उनको डेरा कोठामा खानतलासी गर्दा प्रहरीले नक्कली रिभल्भर १ थान, ५०० ग्राम लागुऔषध गाँजा, रु. २ हजार ६ सय नगद, एउटा सवारी चालक अनुमतिपत्र र भिभो कम्पनीको एन्ड्रोइड मोबाइल बरामद गरेको छ।बरामद सामानसहित राणालाई नियन्त्रणमा राखेर जिल्ला प्रहरी कार्यालय रुपन्देहीले घटनाबारे थप गहन अनुसन्धान अगाडि बढाएको जनाएको छ।

chautaripatrika 











प्रतिक्रिया दिनुहोस्