• भौगोलिक चुनौती चिर्दै कमान्डको नमुना: देशभरका हिमाली जिल्लामध्ये बाजुराकी डीएसपी शैलेश्वरी बोहरा उत्कृष्ट

    • chautaripatrika chautaripatrika
    • २०८३ श्रावण ८, शुक्रबार १३:४० गते
    images

    भौगोलिक विकटता, सीमित स्रोतसाधन, दुर्गम बाटो र प्रतिकूल मौसमका बीच काम गर्नु बाजुराजस्तो हिमाली जिल्लामा खटिने जोकोही सुरक्षाकर्मीका लागि ठूलो चुनौती हो। तर, तिनै चुनौतीलाई अवसरमा बदल्दै जिल्ला प्रहरी कार्यालय बाजुराकी प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) शैलेश्वरी बोहराले प्रहरी संगठनभित्र आफ्नो नेतृत्व र कार्यक्षमता बलियोसँग प्रमाणित गरेकी छन्। नेपाल प्रहरी प्रधान कार्यालयद्वारा गरिएको मासिक कार्यसम्पादन मूल्यांकनमा उनी देशभरका हिमाली जिल्लाहरूमा कार्यरत डीएसपीहरूमध्ये सर्वोत्कृष्ट घोषित भएकी हुन्।

    बाजुराको कमान्ड सम्हालेदेखि नै डीएसपी बोहराले शान्ति-सुरक्षा कायम राख्न र सामाजिक अपराध नियन्त्रण गर्न रणनीतिक रूपमा प्रहरी परिचालन गर्दै आएकी छन्। सुदूरपश्चिमको विकट मानिने यस जिल्लामा जरा गाडेर बसेका घरेलु हिंसा, बालविवाह, अवैध मदिराको ओसारपसार तथा बिक्री-वितरण र व्यावसायिक गाँजा खेती फडानीजस्ता सामाजिक विकृतिविरुद्ध उनले टोलीलाई सक्रिय बनाएकी छन्।

    केवल कार्यालयको कुर्सीमा सीमित नरही आफैँ फिल्डमा खटिने, अनुसन्धानको सुक्ष्म अनुगमन गर्ने र स्थानीय तहका विभिन्न सरकारी तथा गैरसरकारी निकायहरूसँग प्रभावकारी समन्वय गर्ने उनको शैलीले नतिजा दिन थालेको हो।

    उनको नेतृत्व क्षमताको दरिलो परीक्षा हिमाली गाउँपालिका–३ को लाम्पाटा क्षेत्रमा भएको सीमा विवाद र झडपका क्रममा देखिएको थियो। दुई पक्षबीच स्थिति निकै तनावग्रस्त बनेपछि कडा भौगोलिक कठिनाइ र जोखिमको पर्वाह नगरी उनी स्वयं प्रहरी टोली लिएर घटनास्थलमै पुगेकी थिइन्।

    घटनास्थलमा पुगेर उनले स्थिति सम्हाल्न देखाएको संयम, बलियो सुरक्षा व्यवस्थापन र दुवै पक्षसँगको समन्वयका कारण सम्भावित ठूलो दुर्घटना टरेको थियो। उनको त्यस सक्रिय उपस्थितिले परिस्थितिलाई थप जटिल बन्न दिएन र अनुसन्धान प्रक्रियालाई निष्पक्ष रूपमा अगाडि बढाउन मुख्य भूमिका खेल्यो।

    व्यावसायिक अनुशासन, निष्पक्ष निर्णय क्षमता, नागरिकमैत्री व्यवहार र जिम्मेवारीप्रतिको उच्च लगनशीलताका कारण डीएसपी बोहरा बाजुरामा मात्र नभई सम्पूर्ण प्रहरी संगठनभित्रै एक सक्षम र उदाहरणीय अधिकृतका रूपमा चिनिन थालेकी छन्। उनी नेतृत्वमा आएपछि जिल्लामा शान्ति-सुरक्षाको स्थिति सुध्रिनुका साथै प्रहरी र आम नागरिकबीचको दूरीसमेत घटेको छ।

    स्थानीय सरोकारवालाहरूका अनुसार उनको यस्तो जुझारु कार्यशैलीले प्रहरी संगठनप्रति नागरिकको विश्वास अझ बढाएको छ। देशभरको कार्यसम्पादन मूल्यांकनमा प्राप्त यो सफलता व्यक्तिगत खुसीमा मात्र सीमित नभएर जिल्ला प्रहरी कार्यालय बाजुराको समग्र टोलीको अहोरात्रको मेहनत, अनुशासन र संस्थागत प्रभावकारिताको कदरका रूपमा हेरिएको छ।

    प्रतिक्रिया दिनुहोस्