बाँकेको डुडुवा गाउँपालिका–५ स्थित राप्ती नदीको कम्दी खण्डमा पौडी खेल्ने क्रममा शनिबारदेखि बेपत्ता भएका दुई बालबालिकामध्ये एक जनाको शव फेला परेको छ भने एक बालिका अझै बेपत्ता छिन्।
स्थानीय ९ वर्षीय बालक शुलभ रावत र दैलेखको ठाँटीकाँध गाउँपालिका–४ गैरागाउँ घर भई हाल बाँकेको कम्दीस्थित शहीद स्मारक माध्यमिक विद्यालयमा कार्यरत शिक्षक गोविन्दराज सिजापतिकी ११ वर्षीया छोरी खुशी सिजापति शनिबार साँझ ४ बजेतिर घरबाट निस्केका थिए ।
त्यसपछि उनिहरु राप्ती नदीमा पौडी खेल्न गएका थिए।
दुवै बालबालिका ढिलासम्म घर नफर्केपछि चिन्तित बनेका अभिभावकले प्रहरीलाई खबर गरेका थिए।
यसैबीच, नदीमा उनीहरू डुबेको घटनाबारे एक भैँसी गोठालाले शनिबार राति परिवारका सदस्यहरूलाई जानकारी गराएपछि मात्र घटना सार्वजनिक भएको हो।
घटनाको भोलिपल्ट आइतबार खोजतलासका क्रममा बालक शुलभ रावतको मृत शव राप्ती नदीमा फेला परेको थियो। अर्की बेपत्ता बालिका खुशी सिजापतिको भने अझै अत्तोपत्तो हुन सकेको छैन।
हाल उनको खोजी कार्यका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोली नदी क्षेत्रमा व्यापक रूपमा परिचालन गरिएको छ। स्थानीय प्रशासन र सुरक्षा निकायले तीब्र रूपमा सर्च अपरेसन जारी राखेका छन्।

chautaripatrika 














प्रतिक्रिया दिनुहोस्