• images

    नेपालगञ्जमा ‘नेपाल संवाद क्लब’ , धमलाले गरे उद्घाटन

    • chautaripatrika chautaripatrika
    • २०८२ मंसिर १७, बुधबार ०९:१७ गते
    images

    बाँकेको नेपालगञ्जमा नेपाल संवाद क्लबको उद्घाटन समारोह प्राइम टिभीका अध्यक्ष ऋषि धमलाद्वारा भव्य रूपमा सम्पन्न भएको छ। उद्घाटन समारोहलाई सम्बोधन गर्दै धमलाले आफू देशको परिवर्तनका लागि भएका हरेक आन्दोलनमा सरिक भएको स्मरण गरे। उनले आफूलाई अहिले राजनीतिमा आउनका लागि धेरै प्रस्तावहरू आइरहेको खुलासा गरे, जसमा जेनजी आन्दोलनपछि बनेको सरकारमा मन्त्री बन्ने प्रस्ताव समेत रहेको बताए। तर, उनले ती सबै प्रस्तावहरू अस्वीकार गरेको स्पष्ट पारे। ‘मन्त्री मेरो लागि ठूलो कुरा होइन, देश र जनता नै ठूलो कुरा हो,’ धमलाले भने, ‘पदबिना पनि मान्छेले काम गर्न सक्छ भन्ने उदाहरण ऋषि धमलाले देखायो। मान्छेको विचार, दृष्टिकोण र चिन्तन ठूलो कुरा हो। महात्मा गान्धी कहिल्यै प्रधानमन्त्री नबनी पनि भारतलाई स्वतन्त्र बनाउन सफल हुनुभयो।’

    धमलाले भारत, चीन र सिंगापुरले विकासमा फड्को मारेको उदाहरण दिँदै नेपाल विकास हुन नसक्नुको मुख्य कारण दूरदर्शी र विकासको भिजन नभएको नेतृत्व नै भएको औंल्याए। उनले नरेन्द्र मोदीको सफल नेतृत्वबाट भारतले विकास गरेको प्रसंग जोड्दै आज नेपाल किन विकास भएन भनेर सोच्ने बेला आएको बताए। उनले अब भ्रष्टाचारलाई जरैदेखि उखेलेर फाल्नुपर्ने आवश्यकता रहेकोमा जोड दिए। ‘नेताहरू भ्रष्टीकरणको बाटोमा लाग्दा देश विकास भएन, तर अब युवा जागिसकेका छन्, तातिसकेका छन्। अब देशको नेतृत्व युवाले गर्नुपर्छ,’ उनले आह्वान गरे।

    यस्तै, क्लबका अध्यक्ष आशिष मल्लले क्लबले लोकतन्त्र, विधिको शासन, कानूनी राज्य र प्रेस स्वतन्त्रतालाई आफ्नो मूल आधारका रूपमा तय गरेको जानकारी दिए। उनले यी सिद्धान्तहरूमा क्लब कहिल्यै सम्झौता नगर्ने अडान लिए। ‘प्रेस स्वतन्त्रता हाम्रो पहिचान हो। हामी जनताको पक्षमा, स्वतन्त्रताको पक्षमा र लोकतान्त्रिक मूल्यको पक्षमा सदैव उभिन्छौँ। यो प्रश्नमा क्लब कहिल्यै झुक्दैन,’ मल्लले भने। मल्लका अनुसार क्लब देश–विदेशका पत्रकारहरूको सञ्जालका रूपमा विस्तार हुँदै जानेछ। रिपोर्टर र श्रमजीवी पत्रकारहरूको हकहित, पेशागत क्षमता अभिवृद्धि, तालिम, सुरक्षा र सम्मान सुनिश्चित गर्नु क्लबको प्राथमिक कार्यसूची रहने उनले बताए। ‘पत्रकार लोकतन्त्रका पहरेदार हुन्। उनीहरू बलियो भए लोकतन्त्र बलियो बन्छ,’ उनले थपे, ‘क्लबले पत्रकारहरूको पेशागत मर्यादा तथा स्वतन्त्रता र सुरक्षालाई निरन्तर प्राथमिकतामा राख्नेछ।’

    प्रतिक्रिया दिनुहोस्