• images

    मध्यरातमा ढोका फोडेर श्रीमतीले हानिन् नगर प्रहरी पतिलाई च’क्कु

    • chautaripatrika chautaripatrika
    • २०८२ मंसिर १७, बुधबार ०८:०४ गते
    images

    बुटवलमा श्रीमतीको चक्कु प्रहारबाट एक जना गम्भीर घाइते भएका छन्। घाइते हुने ३० वर्षीय सुरज गुरुङ बुटवल उपमहानगरपालिकाका नगर प्रहरी हुन्, र उनलाई उनकी श्रीमती ३८ वर्षीया पवित्रा गुरुङले चक्कु प्रहार गरी गम्भीर घाइते बनाएकी छिन्। वडा प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक विष्णुदेव गिरीका अनुसार, राति करिब २ बजेतिर भएको उक्त घटनामा गम्भीर घाइते भएका गुरुङको भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको छ। चक्कु प्रहारबाट सुरजको टाउको र घाँटीमा गहिरो चोट लागेको प्रहरी निरीक्षक गिरीले जानकारी दिए।

    बुटवल उपमहानगरपालिका-११ का वडा सदस्य नकुल शाही ठकुरीले घटनाको पृष्ठभूमि दिँदै, पवित्राले विगत तीन-चार वर्षदेखि डिप्रेसनको औषधी सेवन गर्दै आएको र श्रीमान्-श्रीमतीबीच नियमित झैँझगडा हुने गरेको बताए। झैँझगडा र कुटपिटका कारण नगर प्रहरी सुरज राति अलग्गै कोठामा सुत्दै आएका थिए।

    वडा सदस्य शाही ठकुरीका अनुसार, मंगलबार मध्यरातमा सुरज अलग्गै कोठामा सुतिरहेको बेला पवित्राले कोठाको ढोका फोडेर भित्र प्रवेश गर्दै चक्कु प्रहार गरेकी थिइन्। एक्कासि आक्रमण भएपछि ज्यान जोगाउन भागेर बाहिर निस्किएका सुरजमाथि बाहिर आइसकेपछि पनि टाउको र घाँटीमा चक्कु प्रहार गरिएको थियो।

    राति हो-हल्ला सुनेर पुगेका छिमेकीहरूले सुरजलाई रक्तमुच्छेल अवस्थामा उद्धार गरी तत्कालै अस्पताल पठाएका थिए। स्थानीयको सहयोगमा आक्रमणकारी पवित्रालाई नियन्त्रणमा लिई प्रहरीको जिम्मा लगाइएको छ। घरमा उनीहरूका करिब ७ वर्षका एक छोरा मात्रै रहेका छन्।

    प्रतिक्रिया दिनुहोस्