राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीलाई डिजिटल प्रणालीमा रूपान्तरण गर्ने अभियानअन्तर्गत निर्माण गरिएको ‘पल्स आरएसपी’ नामक डिजिटल प्लेटफर्मबारे प्रतिनिधिसभा सदस्यहरूलाई अभिमुखीकरण गर्ने भएको छ ।
रास्वपाका मुख्य सचेतक कविन्द्र बुर्लाकोटीका अनुसार पार्टी सभापति रवि लामिछानेको उपस्थितिमा आज बिहान १०ः३० बजे सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रममा सांसदहरूलाई ‘पल्स आरएसपी’ प्रणालीको प्रयोग तथा साइबर सुरक्षासम्बन्धी सचेतनाबारे जानकारी दिइने जनाइएको छ ।
रास्वपाले बैठकपछि प्रत्येक सांसदले आफ्ना गतिविधि अनिवार्य रूपमा उक्त प्रणालीमा अद्यावधिक गर्नुपर्ने व्यवस्था गरेको छ। सांसदहरूबीच भेटघाटका लागि अनलाइनबाटै समय माग गर्न सकिने, संसदमा उठाउने विषयवस्तु प्रणालीमै प्रविष्ट गर्नुपर्ने तथा निर्वाचन क्षेत्रमा भएका भ्रमण, भेटघाट र अन्य गतिविधिको विवरण पनि सोही पोर्टलमा राख्नुपर्ने व्यवस्था गरिएको छ ।
त्यसैगरी नागरिकले आफ्ना निर्वाचन क्षेत्रका सांसदसँग यही डिजिटल माध्यमबाट गुनासा तथा सुझाव दर्ता गर्न सक्ने, ती गुनासाको ट्र्याकिङ हुने र सोही आधारमा सांसदको कार्यसम्पादन मूल्याङ्कन गर्न सकिने सुविधासमेत प्रणालीमा समावेश गरिएको रास्वपाले जनाएको छ ।

Bishnu GC 














प्रतिक्रिया दिनुहोस्