• बर्डफ्लुका कारण साढे पाँच लाख कुखुरा नष्ट

    • Bishnu GC Bishnu GC
    • २०८३ जेष्ठ २७, बुधबार २२:५५ गते
    images

    पछिल्ला केही हप्तायतादेखि बर्डफ्लु सङ्क्रमणका कारण कुखुरा र अण्डा नष्ट गर्ने क्रम बढेको छ। हालसम्म पाँच लाख ५३ हजार ७५० कुखुरा नष्ट गरिएका छन्। यस क्रममा पीडित किसानलाई राहत रकम उपलब्ध गराउने निर्णय गरिएको छ।

    रोग नियन्त्रणमा खटिएको पशुसेवा विभागको टोलीले दिएको जानकारीअनुसार प्रभावित १० जिल्लामा ७२ फार्मका लेयर्स कुखुरा र स्थानीय जातका कुखुरा नष्ट गरिएका छन्। सरकारको निर्देशनअनुसार खटिएको ‘द्रुत कार्य टोली’ले कुखुरासँगै १० लाख ९०० अण्डा र दुई लाख पाँच हजार किलो कुखुराको दाना पनि नष्ट गरेको पशुसेवा विभागका वरिष्ठ पशुचिकित्सक डा नवराज श्रेष्ठले जानकारी दिए।

    सरकारले बर्डफ्लुका कारण कुखुरा तथा अन्य उत्पादन गुमाउन बाध्य किसानलाई करिब ४२ करोड राहत दिने भएको छ। वरिष्ठ पशुचिकित्सक डा श्रेष्ठका अनुसार रोग पुष्टि भई कुखुरा, अन्डा तथा दाना नष्ट गर्न बाध्य भएकाले ती किसानलाई उक्त राहत दिन लागिएको हो।

    बर्डफ्लु नियन्त्रण नियमावली २०७८ अनुसार यसरी पक्षीजन्य उत्पादन नष्ट गरिएका किसानलाई लागत मूल्यको ७५ प्रतिशत राहत दिने व्यवस्था गरिएको छ। यसबाहेक प्रभावित क्षेत्रको सम्पूर्ण पक्षीजन्य उत्पादन नष्ट भएको करिब दुई महिनापछि मात्रै व्यवसाय पुनःसुरु गर्न पाउने व्यवस्थाले किसानले थप क्षति व्यहोर्नुपर्ने हुन्छ।

    पशुसेवा विभागका महानिर्देशक डा उमेश दाहालका अनुसार द्रुत कार्य टोलीले तोकिएको ढाँचामा सङ्कलन गरेको क्षति विवरणका आधारमा किसानलाई दिनुपर्ने रकम निर्धारण गरिन्छ। विवरणमा टोली र किसानको हस्ताक्षर हुन्छ। लागत मूल्य जिल्लाअनुसार फरक पर्नसक्ने भएकाले सम्बन्धित प्रमुख जिल्ला अधिकारीलगायत उच्च पदाधिकारीको बैठकले निर्णय गर्ने गरिएको जानकारी महानिर्देशक डा दाहालले बताए।

    केही महिनायता काठमाडौँ उपत्यकासहित १० जिल्ला बर्डफ्लुबाट प्रभावित छन्। महानिर्देशक डा दाहालका अनुसार केही साताअघि झापा, मोरङ र सुनसरी जिल्लामा देखिएको बर्डफ्लु पछि महोत्तरी, बारा, चितवन हुँदै पछि पछिल्लो समय काठमाडौँ उपत्यकामा देखिएको हो।

    वरिष्ठ पशुचिकित्सक डा श्रेष्ठले यसको उपचार नभएकाले र प्रभावित ठाउँका पक्षीलाई नष्ट गर्नु तथा रोग देखिनासाथ जतिसक्दो छिटो नियन्त्रण गरेर फैलन नदिनु रोकथामको एउटा मात्र उपाय हो। प्रभावित क्षेत्रका पक्षी, अण्डा र दाना नष्ट गर्नुको कुनै विकल्प नभएको उनको भनाइ छ।

    उक्त कार्यका लागि पशु चिकित्सक निरन्तर खटिएका छन्। पछिल्लो समय काठमाडौं उपत्यका बर्डफ्लुको ‘हटस्पट’को रुपमा देखापरेको छ। चितवन तथा मुलकका अन्य भागमा उक्त रोग नियन्त्रणमा आइसकेको उनले बताए।

    प्रतिक्रिया दिनुहोस्