काभ्रेको बनेपा नगरपालिका—४ थापापाउँमा रहेको सगरमाथा ग्यास उद्योग प्रालिले उत्पादन गरिरहेको सगर ग्यासका तीन हजार ३० सिलिन्डर नष्ट गरेको छ ।
मिति गुज्रिएका र हाइड्रोलिक टेष्ट फेल भएका तीन हजार बढी सगरका एलपी ग्यास सिलिन्डर आइतबार नष्ट गरिएको हो ।
सगरमाथा ग्यास उद्योग प्रालिका संचालक सावरमल अग्रवालका अनुसार आफ्नो बार्षिक कार्य तालिका अनुसार बजारमा राम्रो र दुरुस्त एलपी ग्यास उपलब्ध गराउने उद्देश्यले सिलिन्डर नष्ट गरिएको हो ।
आयल निगमको निर्देशन र नेपाल गुणस्तर तथा नापतौल विभागको मापदण्डलाई पालना गर्दै पुनः प्रयोग गर्न नमिल्ने साथै हाइड्रोलिक परीक्षणमा फेल भएका करिब ३ हजार ३० वटा सिलिन्डर यस बर्ष नष्ट गरेका हौं । हाम्रो वार्षिक कार्यक्रम अनुसार एक बर्षमा संकलित यस्ता सिलिन्डर नियमित नष्ट गर्दै आइरहेका छौं, अग्रवालले भने,हाइड्रोलिक परीक्षण फेल भएका, म्याद गुज्रिएका र कुच्चिएका सिलिन्डरहरु अत्याधुनिक मेसिनको सहायतामा डिस्पोजल गर्ने गरेका छौं ।
दैनिक सात हजार पाँच सय सिलिन्डर भर्दै(रिफिल) आइरहेको सगरमाथा ग्यास उद्योग प्रालि अन्तर्गतका सगर ग्यासका हाल साढे चार लाख सिलिन्डर बजारमा रहेको संचालक अग्रवालले जानकारी दिए ।
सिलिन्डर ग्यास विस्फोट हुनुको कारण सिलिन्डरको कारण मात्र नभए रेगुलेटर र पाइप पनि प्रमुख कारण हुने उनले बताए । ग्यास विस्फोट हुनुमा सिलिन्डर मात्र दोषि हुँदैन् । रेगुलेटर र पाइपमा पनि ध्यान दिनुपर्छ । हामीले प्रत्येक डिपोहरुलाई सचेत गराउँदै आइरहेका छौं । प्रज्वनशिल र संवेदनशिल वस्तु भएकाले सचेत भएर काम गर्न भनेका छौं, उनले भने ।
सगरमाथाले आइतबार नेपाल आयल निगम, नेपाल गुणस्तर तथा नापतौल विभाग, उपभोक्ता अधिकार अध्ययन मन्चका प्रतिनिधि, स्थानीय जनप्रतिनिधि र संचारकर्मीहरुको उपस्थितिमा सिलिन्डर नष्ट गर्ने काम सुरु गरेको हो ।
सो अवसरमा नेपाल गुणस्तर तथा नापतौल विभागका प्राविधिक इन्जय कुमार मानन्धरले एनएच प्लान्ट ५३३ भन्ने गुणस्तर मापदण्ड अनुसार सगर ग्यास सिलिन्डर नष्ट गरिएको जानकारी दिए ।
अन्तर्राष्ट्रिय मान्यताअनुरुप सिलिन्डर पहिलोपटक बनेको मितिबाट २० वर्षसम्म प्रयोग गर्न योग्य हुन्छ । पहिलो पटक १० वर्षमा परीक्षण हाइड्रोलिक टेष्ट गर्नुपर्छ । त्यसपछि ५÷५ वर्षमा हाइड्रोलिक टेष्ट गरेर त्यसको गुज्रने मिति परिवर्तन गर्नुपर्ने कानुनी व्यवस्था भएकाले सोही अनुसार सगरका तीन हजार ३० सिलिन्डर नष्ट गर्नुपर्ने देखिएको छ, उनले भने ।


chautaripatrika 















प्रतिक्रिया दिनुहोस्