• मिसाइल आक्रमणको भिडियो फैलाउँदा युएइमा नेपालीसहित १० जना पक्राउ

    • Bishnu GC Bishnu GC
    • २०८२ फाल्गुन ३०, शनिबार १८:१५ गते
    images

    संयुक्त अरब इमिरेट्स (युएई) मा सामाजिक सञ्जालमार्फत एआई प्रयोग गरी भ्रामक फोटो र भिडियो सार्वजनिक गरेको आरोपमा एक नेपालीसहित १० जना विदेशी नागरिक पक्राउ परेका छन् ।

    गल्फ न्युजका अनुसार वास्तविक आक्रमणको भिडियोमा एआईबाट बनाइएका नक्कली दृश्य जोडेर सामाजिक सञ्जालमा भ्रम फैलाएको आरोपमा उनीहरूलाई शुक्रबार पक्राउ गरिएको हो ।

    प्रहरीले पक्राउ परेकाहरूको आँखाको भाग छोपिएको तस्बिर सार्वजनिक गरेको छ। उनीहरू कुन देशका नागरिक हुन् भन्ने उल्लेख गरिए पनि पूरा नाम भने सार्वजनिक गरिएको छैन । पक्राउ पर्नेहरूमा इरान, पाकिस्तान, भियतनाम, फिलिपिन्स, इजिप्ट, नेपाल, क्यामरुन, भारत र बंगलादेशका नागरिक रहेका छन् ।

    प्रहरीका अनुसार केही इरानी आक्रमण र त्यसलाई युएईको प्रतिरक्षा प्रणालीले नष्ट गरिरहेको वास्तविक भिडियोमा एआई प्रयोग गरी नक्कली दृश्य थपेर सामाजिक सञ्जालमा सार्वजनिक गरिएको थियो। ती भिडियोहरूमा युएईका विभिन्न स्थानमा विस्फोट, आगलागी तथा सुरक्षा संकट देखिएको जस्तो भ्रामक दृश्य प्रस्तुत गरिएको बताइएको छ ।

    यस्ता सामग्रीले सार्वजनिक सुरक्षा र सामाजिक स्थिरतामा नकारात्मक प्रभाव पार्न सक्ने भन्दै उनीहरूविरुद्ध कारबाही गरिएको जनाइएको छ। मध्यपूर्व क्षेत्रमा बढ्दो तनावका बीच युएई सरकारले सामाजिक सञ्जालमा फैलिने अफवाह र भ्रामक सूचनामाथि निगरानी कडा बनाएको बताइएको छ।

    यसैबीच, बिबिसीका अनुसार अलग्गै कारबाहीमा विभिन्न देशका ४५ जनालाई पनि पक्राउ गरिएको छ। उनीहरूमाथि आक्रमणसम्बन्धी भिडियो खिचेर भ्रामक सूचना फैलाएको आरोप लगाइएको छ। ती ४५ जना कुन कुन देशका नागरिक हुन् भन्ने खुलाइएको छैन।

    अन्तर्राष्ट्रिय सञ्चारमाध्यम सिएनएनका अनुसार युएईमा साइबर अपराधसम्बन्धी कसुरमा कम्तीमा दुई वर्ष जेल सजाय र दुई लाख युएई दिरामसम्म जरिवाना हुन सक्छ।

    प्रतिक्रिया दिनुहोस्