रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र इरानका राष्ट्रपति मसुद पेजेश्कियानबीच टेलिफोन वार्ता भएको छ । वार्तामा मध्यपूर्व क्षेत्रमा जारी द्वन्द्वको अवस्थाबारे केन्द्रित छलफल भएको जनाइएको छ । मंगलबार राति भएको कुराकानीका क्रममा पुटिनले युद्ध छिट्टै रोक्दै क्षेत्रीय तनाव कम गर्न आवश्यक रहेको बताएका छन्।
रुसी राष्ट्रपति कार्यालय क्रेमलिनका अनुसार उनले द्वन्द्वको समाधान कूटनीतिक माध्यमबाट खोजिनुपर्नेमा जोड दिएका थिए । फोन वार्ताका क्रममा पेजेश्कियानले रुसले उपलब्ध गराएको समर्थन तथा मानवीय सहयोगप्रति धन्यवाद व्यक्त गरेका थिए ।
यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि आफूले पुटिनसँग फोनमा कुराकानी गरेको बताएका थिए । ट्रम्पका अनुसार उनीहरूबीच इरानमा भइरहेको युद्ध र युक्रेनको अवस्थाबारे समेत छलफल भएको थियो । ट्रम्पले पुटिनले इरान युद्ध अन्त्य गर्न सहयोग गर्ने प्रस्ताव गरेको बताए । तर ट्रम्पले पुटिनलाई रुस-युक्रेन युद्ध अन्त्य गराउन सहयोग गर्न सके त्यो अझ राम्रो हुने प्रतिक्रिया दिएको बताएका छन् ।
यसैबीच इजरायलले इरानका विभिन्न शहरमा हवाई आक्रमण तीव्र बनाएको जनाएको छ। इरानको राजधानी तेहरानमा रातभर शक्तिशाली विस्फोटका आवाज सुनिएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
इजरायली रक्षा बलले तेहरान र तब्रिज शहरका विभिन्न स्थानमा एकैपटक आक्रमण गरेको जनाएको छ । इजरायलका अनुसार तब्रिजमा रहेको एक विशेष सैन्य इकाइको कमाण्ड केन्द्रलाई निशाना बनाइएको थियो ।
तेहरानमा भने ‘इमाम हसन’ सुरक्षा इकाइको सैन्य परिसर तथा ब्यालिस्टिक मिसाइल प्रक्षेपणसँग सम्बन्धित एक कमाण्ड केन्द्रमा आक्रमण गरिएको बताइएको छ । त्यसैगरी माराघेह प्रान्तमा रहेको गुप्तचर तथा सुरक्षा प्रहरीको कमाण्ड केन्द्र र तब्रिजस्थित बासिज फोर्सको ठूलो सैन्य परिसरलाई पनि लक्षित गरिएको इजरायलले जनाएको छ ।
अर्कोतर्फ इजरायलले इरानबाट प्रहार गरिएका केही मिसाइललाई आकाशमै अवरोध गरेर नष्ट गरिएको पनि दाबी गरेको छ । इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्सले भने इजरायल र मध्यपूर्वका अमेरिकी सैन्य ठिकानामा आक्रमण गरेको दाबी गरेको छ ।
इरानले तेल अवीभको दक्षिणमा रहेको हेला उपग्रह सञ्चार केन्द्र, बियर याकुब, पश्चिम यरुशलम र हाइफा क्षेत्रका सैन्य स्थलहरूलाई निशाना बनाइएको जनाएको छ।
त्यसैगरी इराकको एरबिलमा रहेको अमेरिकी सैन्य आधार र बहराइनको मनामामा रहेको अमेरिकी पाँचौँ नौसैनिक फ्लीटको मुख्यालयमा पनि आक्रमण गरिएको इरानले दाबी गरेको छ । इरानी रिभोलुसनरी गार्डले आफ्नो लक्ष्य पूरा नभएसम्म यस्ता आक्रमण जारी रहने चेतावनी पनि दिएको छ ।

Bishnu GC 

















प्रतिक्रिया दिनुहोस्