सुनसरीको देवानगन्ज गाउँपालिका– ३ को कप्तानगन्ज बजारमा आइतबार राति डिजेबाजा विवादमा स्थानीय दुई समूहबिच झडप भएपछि उत्पन्न तनाव शान्त बनाउन सोमबारदेखि लगाएको कर्फ्यु प्रशासनले हटाएको छ। तर, कर्फ्यु हटाए पनि मंगलबार बिहानैदेखि निषेधाज्ञा आदेश जारी गरेको छ।
झडपमा प्रहरीको गोली लागेर एकजनाको मृत्यु र नौजना गम्भीरसहित २४ जना घाइते भएका थिए।
जिल्ला प्रशासन कार्यालयका अनुसार जिल्लाको हरिनगर र देवानगन्ज गाउँपालिकाको सम्पूर्ण क्षेत्रमा कर्फ्यु हटाएर निषेधाज्ञा जारी राखेको हो। स्थानीय प्रशासन ऐन, २०२८ अनुसार सम्भावित सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै सोमबार बिहान ७ बजेदेखि अनिश्चित समयका लागि लगाइएको कर्फ्यु हटाएर मंगलबार बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म लागू हुने गरी निषेधाज्ञा आदेश जारी गरिएको सुनसरीका सिडिओ ईश्वरीप्रसाद अर्यालले जानकारी दिएका छन्।
जारी गरेको निषेधाज्ञा आदेशअनुसार हरिनगर गाउँपालिका र देवानगन्ज गाउँपालिकाको सम्पूर्ण क्षेत्रमा पाँचजनाभन्दा बढी मानिस एकै ठाउँमा भेला हुन, जम्मा हुन वा प्रदर्शन गर्न निषेध गरिएको छ। निषेधाज्ञा उल्लंघन गर्ने व्यक्तिलाई प्रचलित कानुनबमोजिम पाँच हजार रुपैयाँसम्म जरिवाना वा एक महिनासम्म कैद वा दुवै सजाय हुन सक्नेछ ।
देवानगन्जमा प्रहरीको गोली लागेर देवानगन्ज– ४ का ३० वर्षीय ओमप्रकाश मृत्यु भएपछि उत्पन्न तनाव र त्यसपछिको सुरक्षा अवस्थालाई ध्यानमा राख्दै जिल्ला प्रशासन सुनसरीले सोमबार बिहानैदेखि देवानगन्जलगायत आसपासका पालिकाहरू र कोशी र इनरुवा नगरपालिकाअन्तर्गत पर्ने पूर्वपश्चिम एसियन हाइबेमा पनि कर्फ्यु आदेश जारी गरेको थियो।
आइतबारको घटनालाई लिएर सुनसरीको देवागन्ज, बर्जु, झोक्राहा नरसिंह, हरिनगरा गाउँपालिकाहरूले मंगलबार पनि शोकबिदा दिएका छन् । यसैगी घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही माग गर्दै सामाजिक एकता र धार्मिक सदभाव कायम राख्न विभिन्न संघसंस्थाहरूले आग्रह गरेका छन्।
घटनामा घाइते भएका नौजनाको विराटनगरका विभिन्न अस्पतालमा आइतबार रातिदेखि नै उपचार भइरहेको छ। उपचाररत घाइतेहरूसँग सरकारले गठन गरेको सहसचिव भूपेन्द्र थापा नेतृत्वको केन्द्रीय जाँचबुझ समितिले भेटघाट गरेर सोमबार साँझ बयान लिएको छ।घटनापछि सरकारले सुनसरीका सिडिओ वासुदेव घिमिरे, एसपी केशवकुमार थेबे कोशी प्रदेश प्रहरी प्रमुख डिआई विनोद घिमिरेलाई जिम्मेवारीबाट हटाएर नयाँ सिडिओ, एसपी र डिआइजीलाई नेतृत्वमा खटाएको छ ।

chautaripatrika 















प्रतिक्रिया दिनुहोस्