रामेछापको सेलेघाटदेखि ओखलढुङ्गाको सिमाना साँघुटारसम्म निर्माणाधीन सडक आयोजना निर्माण व्यवसायीको चरम लापरबाहीका कारण अलपत्र परेको छ ।
निर्माण कार्य कछुवा गतिमा हुँदा सडक किनारका बस्ती, खेतीयोग्य जमिन र स्थानीयको जनजीवन नै जोखिममा परेको भन्दै स्थानीयवासीले तत्काल काम अघि बढाउन माग गरेका छन्।
रामेछापको मन्थली नगरपालिका–६ स्थित सेलेघाटदेखि रामेछाप बजार हुँदै ओखलढुङ्गाको लिखु किनारस्थित साँघुटार बजारसम्म पुग्ने करिब ५२ किलोमिटर लामो सडक भारतीय एक्जिम बैंकको सहयोगमा निर्माण भइरहेको हो।
आयोजनाको ठेक्का भारतीय निर्माण कम्पनी टेलिकम्युनिकेसन इन्डिया लिमिटेड (टीसीआईएल) ले पाएको भएपनि कम्पनीले नेपाली निर्माण व्यवसायीमार्फत काम गराउँदै आएको छ ।
तर, सडकको पुरानो संरचना भत्काएर नयाँ निर्माण अधुरै छाडिएपछि वर्षायाममा सडक हिलाम्मे र हिउँदमा धुलाम्मे हुने गरेको छ। निर्माण सामग्री सडकमै थुपारिएकाले सवारी सञ्चालनसमेत प्रभावित बनेको छ भने यात्रुहरूले दैनिक सास्ती खेपिरहेका छन्।
मन्थली नगरपालिका–४ सालुका स्थानीय पुष्पराज अधिकारी ले निर्माण व्यवसायीको लापरबाहीका कारण आफूहरूको घरजग्गा नै जोखिममा परेको बताए।
‘सडकमा निर्माण सामग्री थुपारेर अवरोध बनाइएको छ, निर्माण व्यवसायी देखिँदैनन्। सडकको पानी सिधै हाम्रो घर र खेतबारीमा पस्छ। हाम्रो जीवन नै जोखिममा परेको छ,’अधिकारीले भने।
स्थानीयका अनुसार सडक खनेर छाडिएकाले वर्षायाममा पहिरो झर्ने जोखिम बढेको छ। सडकबाट फालिएको ढुंगा–माटोले धेरै बस्ती र खेतीयोग्य जमिन पुरिएको छ भने वर्षाको पानी एकोहोरिएर खेतबारी कटान हुँदै आएको छ ।
नियमित रूपमा यही सडकमा सवारी चलाउने चालक गंगाबहादुर तामाङले सडकको अवस्थाले यात्रु र चालक दुवैलाई सास्ती दिएको बताए । ‘यो दुःख कति दिनसम्म भोग्नुपर्ने हो, कुनै ठेगान छैन। सडकको अवस्था दिनप्रतिदिन झन् बिग्रिँदै गएको छ,’ उनले भने।
सन् २०२० नोभेम्बर ११ मा सुरु भएको यो आयोजना २०२३ मे १० भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको थियो। करिब १ अर्ब ९४ करोड ७१ लाख रुपैयाँ लागतमा निर्माण सम्झौता भए पनि निर्धारित समय सकिएको दुई वर्षभन्दा बढी भइसक्दा समेत सडकको बेस निर्माणको कामसमेत पूरा हुन सकेको छैन।
स्थानीयले निर्माण कम्पनीले कामदारलाई समेत समयमै पारिश्रमिक नदिएको गुनासो गरेका छन्। कामदारको अभाव र निर्माण व्यवसायीको बेवास्ताका कारण आयोजना लामो समयदेखि अलपत्र परेको उनीहरूको आरोप छ।
स्थानीयवासीले वर्षौंदेखि धुलो, हिलो, पहिरो र दुर्घटनाको जोखिम खेप्न बाध्य भएको भन्दै सम्बन्धित निकायले निर्माण व्यवसायीलाई जवाफदेही बनाएर सडक निर्माण तत्काल सम्पन्न गराउनुपर्ने माग गरेका छन्। उनीहरू भन्छन्, सडक विस्तारको नाममा विकास होइन, दैनिक सास्ती र जोखिम मात्रै थपिएको छ।

Bishnu GC 













प्रतिक्रिया दिनुहोस्