• सुरुङमार्गको उद्देश्य दूरी घटाउनु र इन्धन बचत गर्नु हो : मन्त्री लम्साल

    • Bishnu GC Bishnu GC
    • २०८३ श्रावण ११, सोमबार २३:३९ गते
    images

    भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्सालले सुरुङमार्ग निर्माणको मुख्य उद्देश्य सडक दूरी छोट्याउनु, इन्धनको खपत घटाउनु तथा यात्रालाई सुरक्षित र सहज बनाउनु रहेको बताएका छन् ।

    सोमबार नागढुंगा सुरुङमार्ग उद्घाटन समारोहपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री लम्सालले सुरुङमार्ग निर्माणको आवश्यकता सडकको दूरी, सवारीसाधनको चाप (भायबिलिटी) र भौगोलिक जोखिमका आधारमा निर्धारण हुने बताए ।

    उनले लामो दूरी घुमेर यात्रा गर्दा इन्धनको बढी खपत हुने भएकाले सुरुङमार्गले यात्रा छोट्याएर इन्धन तथा यातायात लागत बचत गर्ने उल्लेख गरे । उनका अनुसार सुरुङमार्गले समयको बचतसँगै यातायातलाई थप प्रभावकारी बनाउँछ ।

    मन्त्री लम्सालले कुनै सडक खण्डमा सुरुङमार्ग निर्माणबाट दूरी उल्लेखनीय रूपमा घट्ने र त्यस मार्गमा पर्याप्त सवारी चाप हुने अवस्था भएमा सुरुङमार्ग निर्माण उपयुक्त हुने बताए । यस्ता परियोजनाको निर्णय ‘सम्भाव्यता परिक्षण’ अर्थात् व्यवहार्यता परीक्षणका आधारमा गरिने उनको भनाइ छ ।

    उनले पहिरोको उच्च जोखिम भएका क्षेत्रमा पनि सुरुङमार्ग प्रभावकारी विकल्प हुने उल्लेख गर्दै सरकारले आगामी योजनाहरूमा यस्ता स्थानलाई प्राथमिकतामा राखेर सुरुङमार्ग निर्माण अघि बढाइरहेको जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस्