तुलसीपुर–४ बनहरी जस्तो साधारण ग्रामीण परिवेशमा जन्मिएर नेपाली आतिथ्य तथा पर्यटन उद्योगको शिखरमा पुग्न सफल प्रेरणादायी व्यक्तित्व हुन्, काशीराम अधिकारी । वि.सं. २०३४ सालमा जन्मिएका अधिकारी हाल नेपालको अग्रणी होटल समूह ‘लुम्बिनी ग्रीन होटल्स एण्ड रिसोट्र्स’का ग्रुप प्रमुख कार्यकारी अधिकृत (न्चयगउ ऋभ्इ) का रूपमा कार्यरत छन् । व्यक्तिगत सफलताभन्दा माथि उठेर समग्र उद्योगको विकास, मानव संसाधन निर्माण र सेवा संस्कृतिको प्रवद्र्धनमा समर्पित उनको यो यात्रा निरन्तर संघर्ष, सिकाइ र सेवाप्रतिको अगाध समर्पणको प्रतिफल हो ।
सन् १९९९ मा भारतको ’होटल सरवाना भवन’बाट आफ्नो औपचारिक करियर सुरु गरेका उनले त्यहीँबाटै सेवा संस्कृतिको आधारभूत ज्ञान सिकेका थिए । त्यसपछि सन् २००५ मा मलेसिया प्रवेश गरेका उनले द रिट्ज–कार्लटन र जे.डब्लु. म्यारियट जस्ता विश्वप्रसिद्ध लक्जरी होटलहरूमा नेतृत्वदायी भूमिका निर्वाह गरे । मलेसियापछि सिंगापुर, इन्डोनेसियाका बाटाम र बाली (मोन्टिगो रिसोट्र्स) हुँदै म्यानमारसम्म पुगेर उनले अन्तर्राष्ट्रिय आतिथ्य बजार, लक्जरी रिसोर्ट सञ्चालन र बहुसांस्कृतिक टोली नेतृत्वको गहिरो र उत्कृष्ट अनुभव हासिल गरे ।
दुई दशक लामो अन्तर्राष्ट्रिय अनुभवलाई स्वदेशमै उपयोग गर्ने उद्देश्यसहित नेपाल फर्किएका अधिकारीले यहाँको होटल उद्योगमा नयाँ आयाम थपेका छन् । नेपालमा उनले होटल द फ्लेमिङ्गो (बुटवल), सिद्धार्थ हस्पिटालिटी ग्रुप र होटल सेन्टर प्वाइन्ट (कोहलपुर) जस्ता प्रतिष्ठित संस्थाहरूमा महाप्रबन्धक र प्रमुख सञ्चालन अधिकृत (ऋइइ) को रूपमा सफलतापूर्वक नेतृत्व प्रदान गरे ।
हाल लुम्बिनी ग्रीन होटल्स एण्ड रिसोट्र्सको नेतृत्व सम्हाल्दै उनले सेवा उत्कृष्टता, प्रतिभा विकास, संस्थागत संस्कृति निर्माण र समग्र पर्यटन प्रवद्र्धनमा उल्लेखनीय उपलब्धि हासिल गरिरहेका छन् ।
‘सहि आचरणका लागि नियुक्ति, सीपका लागि तालिम र चरित्रका लागि बढुवा’ भन्ने सबल नेतृत्व दर्शन बोकेका अधिकारी संस्थाको सफलता भवन वा पुँजीले नभई सहि सोच भएका मानिसहरूले निर्धारण गर्ने विश्वास राख्छन् ।
होटल सञ्चालनका साथै सयौं युवा व्यवस्थापकहरूलाई प्रशिक्षण र करियर मार्गदर्शन प्रदान गर्दै आएका उनी नेपाललाई दक्षिण एसियाकै उत्कृष्ट पर्यटन गन्तव्य बनाउने दूरगामी लक्ष्यमा क्रियाशील छन् ।
‘सेवा एउटा पेशा होइन, मानिसहरूको जीवनमा सकारात्मक प्रभाव छोड्ने कला हो’ भन्ने उनको आदर्शले नेपाली आतिथ्य उद्योगलाई निरन्तर मार्गदर्शन गरिरहेको छ ।

Bishnu GC 











प्रतिक्रिया दिनुहोस्