ललितपुर, १५ मङ्सिर । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले देशको नाम उच्च राख्न योगदान पु¥याउने राष्ट्रिय विभूति कलाकार अरनिको जन्मस्थललाई प्रचार–प्रसार गरिनुपर्नेमा जोड दिनुभएको छ । सञ्चारमन्त्री खरेलले आज विहान ललितपुर महानगरपालिका वडा नं. ६ कनिवहाल पुगेर अरनिको जन्म भएको महत्त्वपूर्ण ऐतिहासिक स्थललाई प्रचारप्रसार गर्न आग्रह गर्नुभएको हो ।
उहाँले कनिवहालस्थित वडा कार्यालयको अवलोकन पश्चात् ओकुबहालमा रहेको रुद्रवर्ण महाविहार र अरनिकोको जन्मस्थलको स्थलगन अवलोकन गर्दै गर्नुभएको थियो ।
सञ्चारमन्त्री खरेलले सम्पदा भएको क्षेत्रको प्रचारप्रसार गरेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा यसको महत्त्वका बारेमा उजागर गर्दै पर्यटकहरुलाई समेत आकर्षित गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो,“चीनसम्म पुगेर मुर्तिकलाको प्रचारप्रसारमा राष्ट्रिय विभूति अरनिकोले पुर्याउनु भएको योगदान अतुलनीय छ हामी संस्कृति र सम्पदामा धनी छौँ, हाम्रो पुर्खाको जति सुझबुझ कार्यले अत्यन्तै महत्त्वपूर्ण सम्पदाहरु बनेका छन् ती सम्पदाको संरक्षण र प्रवद्र्धनमा ध्यान दिनुपर्छ ।
मन्त्री खरेलले १३ ओैं शताब्दीको कलाकौशल भएको रुद्रवर्ण महाविहार, महाबुद्ध, विद्याधरी देवी मन्दिरसहित सम्पदास्थलको अवलोकन गर्नुभयो ।सम्पदा क्षेत्र अवलोकनका क्रममा मन्त्री खरेलले जनतालाई दैनिक प्रभावकारी सेवा दिने सरकारी कार्यालय वडा हो भन्दै सङ्घीय मन्त्रीले पनि वडा अध्यक्ष र कार्यालयलाई समन्वय र सहकार्य गर्ने नै हो भन्नुभयो ।
सञ्चारमन्त्री खरेलले सम्पदा क्षेत्रको अवलोकन तथा जानकारी लिदै समस्या समाधानका लागि पहल गर्ने विश्वास व्यक्त गर्नुभयो । ललितपुर महानगरपालिका वडा नं. ६ का वडा अध्यक्ष रुपेन्द्रराज शाक्यले सङ्घीय सरकारबाट वडाका लागि बजेट ल्याउन कठिनाई रहेको बताउँदै सहजिकरणका लागि आग्रह गर्नुभयो । उहाँले मुर्त सम्पदा संरक्षणका लागि रकम उपलब्ध गराउन पनि सञ्चारमन्त्रीसमक्ष आग्रह गर्नुभयो ।
अध्यक्ष शाक्यले अरनिकोको जन्म यही वडामा भएको जानकारी गराउँदै वडाको विशेषता धातु र मुर्तिकलाको उद्यम र व्यापारको हव भएको उल्लेख गर्नुभयो ।अध्यक्ष शाक्यले यस क्षेत्रको सांसदलाई नै भेट्न कठिनाइ भइरहेको अवस्थामा सङ्घीय मन्त्रीलाई भेटेर आफ्नो कुरा जानकारी गराउन पाएकोमा खुसी व्यक्त गर्नुभयो ।


chautaripatrika 















प्रतिक्रिया दिनुहोस्