• दुई दशकपछि उत्तम प्रधान–निरुता सिंहको पुनर्मिलन, ‘सारथी’को गुर्जा खानी छायांकन सम्पन्न

    • chautaripatrika chautaripatrika
    • २०८३ जेष्ठ २०, बुधबार १०:३८ गते
    images

    काठमाडौँ । अभिनेता उत्तम प्रधान र अभिनेत्री निरुता सिंह को मुख्य भूमिका रहेको नेपाली चलचित्र ‘सारथी’को म्याग्दीस्थित गुर्जा खानी सेड्युलको छायांकन सम्पन्न भएको छ। गत बैशाख १५ गतेदेखि सुरु गरिएको छायांकन करिब एक महिनामा सम्पन्न भएको निर्माण टिमले जनाएको छ।

    निर्देशक कुमार गजुरेल का अनुसार अब चलचित्रको काठमाडौँमा एक दिनको मात्र छायांकन बाँकी रहेको छ। सो दृश्य पनि केही दिनमै सम्पन्न गरी पोस्ट–प्रोडक्सनमा जाने तयारी भइरहेको उनले बताए। पोस्ट–प्रोडक्सन पूरा भएपछि चलचित्रको प्रदर्शन मिति सार्वजनिक गरिनेछ।

    दुर्गम तर प्राकृतिक सौन्दर्यले भरिपूर्ण म्याग्दीको गुर्जामा गरिएको छायांकनपछि निर्माण टिम काठमाडौँ फर्किँदा उत्साहित देखिएको छ। चलचित्रले स्थानीय जीवनशैली, मौलिक संस्कृति, ढुंगा–माटोले बनेका घरहरू, छन्त्याल तथा दलित समुदायको जनजीवन र गुर्जा–चुरेन हिमालको मनमोहक दृश्यलाई पर्दामा उतार्ने प्रयास गरेको छ।

    निर्माण पक्षका अनुसार चलचित्रले गुर्जा क्षेत्रको पर्यटन सम्भावनालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा उजागर गर्ने उद्देश्य राखेको छ।
    करिब दुई दशकपछि उत्तम प्रधान र निरुता सिंहलाई पुनः एउटै पर्दामा देख्न पाउने अवसरलाई चलचित्र क्षेत्रले विशेष चासोका साथ हेरेको छ।

    ‘सारथी’मा उत्तम र निरुतासहित मुकुन्द श्रेष्ठ, राजेन्द्र केसी, गिरी विश्वकर्मा, गायत्री जोशी, मदन थापा, सम्रान्त थापा, मिलन खड्का, रश्मि गुरुङ, कल्पना थापा, आशा विश्वकर्मा, सन्तोष ढकाल, विप्लव खड्का, सागर कंडेल र धिरेन कार्की लगायत कलाकारहरूको अभिनय रहेको छ।

    ‘किम्भे प्रोडक्सन’ र ‘धीरज इन्फिनिटी फिल्म्स’ को सहकार्यमा निर्माण भइरहेको चलचित्रका निर्माता तारा थापा ‘किम्भे’ र सौर्यल थापा हुन्। सह–निर्मातामा धिरज तामाङ र बेक बहादुर विश्वकर्मा रहेका छन् भने कार्यकारी निर्माता प्रदीप रायमाझी र रदिप श्रेष्ठ हुन्। अमीर केसी लाइन प्रोड्युसर रहेका छन् भने छायांकन संकल्प भुजेलले गरेका हुन्।

    प्रतिक्रिया दिनुहोस्