• जसले देशमा सधैँ निराशाको खेती गरे, आज उसैले विगत एक दशकमा भएको विकासको यथार्थ स्वीकार गर्नुपर्यो

    • Bishnu GC Bishnu GC
    • २०८३ जेष्ठ ३, आईतवार २३:१७ गते
    images

    के केवल सामाजिक सञ्जालको लोकप्रियता र पपुलिज्मले देशको भविष्य बदल्न सक्छ? कि विचार र संगठन बिनाको राजनीति जनतालाई भ्रममा पार्ने माध्यम मात्रै हो? एमाले महासचिव शंकर पोखरेलले अहिले राज्य सञ्चालनमा रहेका नयाँ शक्तिहरू र अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमाथि एउटा बलियो वैचारिक प्रहार गरेका छन ।

    मदन-आश्रित स्मृति दिवसमा बोल्दै नेता पोखरेलले स्पष्ट शब्दमा भने यदि राजनीतिक र वैचारिक क्षमता छैन भने, विकल्प बन्छु भन्नु पपुलिज्मको सिकार बन्नु हो। उनले अहिलेका नयाँ शक्तिहरूलाई चुनौती दिँदै भने, पपुलिष्टहरू अहिले राज्यको नेतृत्वमा छन्, र जनताले उनीहरूलाई हेरौँ न त भनेर अवसर पनि दिएका छन्। उनीहरूले कस्तो परिणाम दिन्छन्, त्यो समयले नै देखाउनेछ। तर, पपुलिज्म कुनै दीर्घकालीन राजनीतिक विकल्प होइन। यो त केवल पूँजीवादी शक्तिहरूको रक्षा गर्ने माध्यम मात्र हो, समाजवादको बाटो होइन।

    भाषणका क्रममा पोखरेलले रास्वपाका तर्फबाट अर्थमन्त्री भएका डा. स्वर्णिम वाग्लेले हालै सार्वजनिक गरेको अर्थतन्त्रको विवरणको प्रसंग पनि उल्लेख गरे। उनले भने, जसले देशमा सधैँ निराशाको खेती गरे, आज अर्थमन्त्रीको प्रतिवेदनले नै विगत एक दशकमा नेपालमा भएका उल्लेखनीय विकास र यथार्थलाई स्वीकार गर्न बाध्य बनाएको छ। पूर्वाधार र सामाजिक क्षेत्रमा भएका यी महत्वपूर्ण कामहरूको नेतृत्व नेकपा एमालेले गरेको दाबी गर्दै उनले दल र नेताहरूप्रति योजनाबद्ध रूपमा अविश्वास सिर्जना गर्न खोजिएको आरोप समेत लगाए। पोखरेलको सिधा निष्कर्ष छ। समाजलाई सही दिशामा लैजानका लागि लोकप्रियता मात्रै पर्याप्त हुँदैन, बलियो वैचारिक शक्ति हुनु अपरिहार्य छ।

    प्रतिक्रिया दिनुहोस्