अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले नेपालको सुशासन प्रणाली र भ्रष्टाचार जोखिमहरूको विस्तृत मूल्याङ्कन गर्न उच्चस्तरीय टोली पठाएको छ ।आइएमएफका क्षमता विकास प्रमुख जोनाथन पाम्पोलिना नेतृत्वको टोलीले २० अप्रिलदेखि ६ मे २०२६ सम्म काठमाडौं र वीरगञ्जमा अध्ययन तथा छलफल गरेको हो ।
यो अध्ययन ‘गभर्नेन्स एण्ड करप्सन डायग्नोस्टिक’ अन्तर्गत गरिएको हो, जसले संस्थागत कमजोरी, नीतिगत समस्या र भ्रष्टाचारसँग सम्बन्धित जोखिमहरू पहिचान गर्ने लक्ष्य राखेको छ । यसले अर्थतन्त्र, राजस्व व्यवस्थापन, लगानी वातावरण र सार्वजनिक विश्वासमा असर पार्ने मुख्य अवरोधहरूको विश्लेषण गर्नेछ ।आइएमएफ टोलीले सार्वजनिक वित्त व्यवस्थापन, कर तथा भन्सार प्रशासन, राज्य–स्वामित्वका संस्थान, सार्वजनिक खरिद प्रणाली, वित्तीय क्षेत्र नियमन, सम्पत्ति शुद्धीकरण नियन्त्रण तथा कानुनी शासन जस्ता क्षेत्रमा विस्तृत छलफल गरेको जनाएको छ ।
टोलीले सरकारी अधिकारीहरूका साथै नागरिक समाज, निजी क्षेत्र, अध्ययन संस्था र विकास साझेदारहरूसँग पनि परामर्श गरेको छ । यी छलफलहरूले नेपालमा सुशासन सुधारका प्राथमिकता र पारदर्शिता तथा जवाफदेहिता सुदृढ गर्ने उपायहरू पहिचान गर्न सहयोग पुर्याएको बताइएको छ ।आइएमएफले नेपालले हालको सुधार एजेन्डा र विस्तारित ऋण सुविधा अन्तर्गत सुशासन सुधारलाई अगाडि बढाइरहेको उल्लेख गर्दै, अहिलेको राजनीतिक परिस्थितिमा दीर्घकालीन आर्थिक सुधारका लागि अवसर रहेको जनाएको छ ।
टोलीले आगामी महिनाहरूमा प्रारम्भिक प्रतिवेदन तयार गरी नेपाल सरकारसँग छलफल गर्नेछ । अन्तिम प्रतिवेदन सरकारको सहमतिमा सार्वजनिक गरिनेछ ।


Bishnu GC 















प्रतिक्रिया दिनुहोस्