• images

    हामी मरेका होइनौ, ढलेका मात्र हौँ योगेश भट्टराई भन्छन्

    • Bishnu GC Bishnu GC
    • २०८२ फाल्गुन २५, सोमबार १३:३० गते
    images

    नेकपा(एमाले)का उपमहासचिव योगेश भट्टराईले हालैको चुनावलाई लक्षित गर्दै पार्टी सुधार र समृद्धितर्फ आह्वान गरेका छन् । भट्टराईले भनेका छन्, ‘हामी ढलेका मात्र हौँ, मरेका होइनौँ। जनताले आफ्नो मतमार्फत हाम्रो नीति र नेतृत्वलाई शान्तिपूर्ण रूपमा अस्वीकृति दिएका छन्। यो आजको वस्तुगत यथार्थ हो।”

    भट्टराईले पार्टीभित्र नीति सुधारको आवश्यकता औँल्याउँदै भनेका छन्,‘हामीले भाद्र २३ र २४ पछि पार्टीले लिएका केही नीतिगत निर्णयहरूमा करेक्शन गर्न नेतृत्व र सिगो पार्टी पंतिलाई पटक–पटक अनुरोध गरेका थियौँ, तर सफल भएनौँ। अब खुला बहस र छलफल अपरिहार्य छ ।’

    उनले सबै नेता, कमरेड र पार्टीका तहगत संरचनाहरुलाई व्यक्तिगत पूर्वाग्रह, भावना वा षड्यन्त्रबाट माथि उठेर सामूहिक बुद्धि र विवेकका आधारमा पार्टी सुधारमा सक्रिय भूमिका खेल्न आह्वान गरेका छन् ।

    भट्टराईले थपेका छन्,‘सही नीति, सही संगठन, सही नेतृत्व, सही व्यवहार र सही कार्यशैलीमार्फत मात्र हामी उठ्न सक्छौँ। पार्टी, जनता र राष्ट्रको स्वाभिमानलाई पुनः स्थापित गर्न संयम र धैर्यका साथ एकता र आत्मसमिक्षाको बाटो अपनाउन सबै कमरेडहरूलाई हार्दिक अपिल गर्दछु ।’

    कमरेडहरू, हामी ढलेका मात्र हौ, मरेका होइनौ !
    विगत तीन दिनयता करिब हजार जनासँग फोनमा कुरा भयो । त्यति कै संख्यामा म्यासेज हेरेको छु । त्यसमा अधिकांश पार्टीका कमरेडहरू र केही शुभेच्छुक मित्रहरू रहनु भएको छ । कुराकानीका क्रममा सुझाब, टिप्पणी, बिरोध, आक्रोश, हतासा, निरासा, संभावना, उपाय, दृढ़ता, जोशलगायतको मिश्रित र विविधतायुक्त धारणाहरू पाएको छु । बोल्नु पर्‍यो, पहल लिनु पर्‍यो भनेर प्रेरणादायी अनि दबाबयुक्त कुरा पनि सुनेको छु । विस्तृतमा केही दिन पछि भन्ने छु । अहिलेलाई मेरा प्रारम्भिक बिचार
    निर्वाचनमा आफ़नो मतमार्फत जनताले हाम्रो नीति र नेतृत्वलाई शान्तिपूर्ण रूपमा अस्वीकृति गरेका छन । यो आजको वस्तुगत यथार्थ हो । हामीले आफूभित्र सर्वाङ्गीण रूपान्तरण मार्फत जनसमर्थन पुन: आर्जनको बाटो लिनु पर्दछ ।

    मुलत: भाद्र २३ र २४ पछि हाम्रो पार्टीले लिएका नीति ठिक छैनन त्यसमा करेक्शन गरौ भनेर हामीले नेतृत्व र सिगो पार्टी पंतिलाई बैठक, भेटघाट र महाधिवेशन मार्फत पटक पटक अनुरोध गर्यौ तर सफल भएनौ । अब पुन: छलफल र बहस खुला गर्नु पर्दछ ।
    हरेक सार्वजनिक संस्था/संगठनमा जिम्मेवारी र जवाफदेहीता अहम महत्वको सवाल हुने गर्दछ । नेकपा एमाले यो अवस्थामा आउनुमा पार्टीले लिएका नीति मात्र होइन जिम्मेवारीमा रहेका तहगत कमिटी र नेताहरू सबैले भागीदारी बोक्नु पर्दछ । त्यस पनि नीतिगत र कार्यकारी भूमिकामा रहेको केन्द्रीय कमिटी, केन्द्रीय सचिवालयले नै जस अपजसको भारी बोक्नु पर्दछ । यो सबैको जवाफदेहिता फेरी पनि प्रमुख नेता कै रहंन्छ । सफलता वा असफलता पछिको जवाफदेहिताको कार्यान्वयन कसरी हुन्छ? पूर्वाग्रह, भावना र षड्यन्त्रको सिद्धान्तबाट माथि उठेर पार्टीभित्र यसमा गम्भीर छलफल गर्नु पर्दछ ।

    पार्टीले सामना गर्नु परेको अवस्था र असफलता सिगो पार्टीको असफलता हो । सामुहिक बुद्धि/विवेक र सामुहिक पहलबाट मात्र यो अवस्थालाई बदल्न सकिन्छ । तसर्थ: म सबै नेता कमरेडहरू र सिगो पार्टी पंतिलाई हिजोका गुट (समुह) का घेराबाट बाहिर निस्केर खुला खुलस्त बहसमा सहभागी हुन आह्वान गर्दछु । साथै पार्टी, जनसंगठन र प्रवासका तहगत कमिटी र सदस्य कमरेडहरुलाई आफना राय सुझावहरू पार्टी नेतृत्व समक्ष पठाउन अनुरोध गर्दछु ।

    कमरेडहरू, हामी ढलेका मात्र हौ, मरेका होइनौ । सहि नीति, सहि संगठन, सहि नेतृत्व, सहि व्यवहार र सहि कार्यशैली मार्फत हामी उठने छौ र पार्टी, जनता र राष्ट्रको स्वाभिमानलाई फेरी उठाउने छौ । संयम र धैर्यताकासाथ पार्टीको एकता जोगाउन र सहि मार्गमा अघि बढ़न र आत्मभर्त्सना होइन आत्मसमिक्षाको बाटोमा हिड़न म नेकपा एमालेका सम्पूर्ण कमरेडहरूलाई हार्दिक अपिल गर्दछु ।

    राजनीतिक दल एउटा सार्वजनिक संस्था हुनुको नाताले नेकपा एमालेका बारेमा आफना सुझाव, आलोचना र टिप्पणीहरू पठाउन समस्त बुद्धिजीवी मित्रहरू र आम जनसमुदायमा हार्दिक अपिल गर्दछु ।
    अन्तमा: राष्ट्रिय एकता र नेपाली सार्वभौमिकताको रक्षा तथा बाम- लोकतान्त्रिक विचारधाराको रक्षा आजको साझा राष्ट्रिय कार्यभार हो । यसका लागि जनादेशको सम्मान र सम्बद्ध राजनीतिक बिचार र शक्तिका बिचका सकारात्मक सहकार्यका लागि सबैमा अपिल गर्दछु ।

    प्रतिक्रिया दिनुहोस्