कार्डियाक अरेष्टका कारण आइतवार बिहान नयाँ दिल्लीको एउटा अस्पतालमा भर्ना भएपछि उपचारकै क्रममा ज्यान गुमाउन पुगेका गायक तथा अभिनेता प्रशान्त तामाङको सोमवार दार्जीलिङमा अन्त्येष्ठी गरिने भएको छ ।
आइतवार कार्डियाक अरेस्ट भएको बेला उनी दिल्लीको जनकपुरीस्थित घरमै थिए । अचानक स्वास्थ्य बिग्रिएपछि उनलाई अस्पताल पुर्याइएको थियो । ४३ वर्षीय गायक तामाङ ईन्डियन आइडल–३ को उपाधि विजेता भएपछि नेपाली सांगीतिक क्षेत्रका साथै नेपाली फिल्ममा समेत सक्रिय भएका थिए ।
यसैबीच, गोरखाल्याण्ड टेरिटोरियल एड्मिनिष्ट्रेसन (जिटिए) का प्रमुख अनित थापाको विशेष पहलमा दिवङ्गत प्रशान्त तामाङको पार्थिव शरीर सोमवार बिहान ईण्डिगो एयरलाइन्सको विमानबाट ९ः४५ बजे नयाँ दिल्लीबाट पश्चिम बंगालको बागडोग्रा विमानस्थल पुर्याइने कार्यक्रम तय भएको तामाङका नजिकका साथी राजेश घतानीले जानकारी गराएका छन् ।
सामाजिक सञ्जालमा घतानीले बागडोग्राबाट दिवंगत तामाङको पार्थिव शरीर दार्जीलिङको चौरास्तामा राखेर अन्तिम श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम आयोजना गरिने जानकारी गराएका छन् । घतानीले तामाङका अन्त्येष्ठीमा आफूसहित गायक डम्बर नेपाली पनि सहभागिसमेत जानकारी गरएका छन् भने उनले यो अत्यन्त संवेदनशील घडीमा जिटिए प्रमुख अतिन थापाको जिम्मेवार नेतृत्व, सहानुभूति तथा मानवीय पहलका लागि धन्यवाद अर्पण गरेका छन् ।

chautaripatrika 















प्रतिक्रिया दिनुहोस्