• images

    ओली-प्रचण्डबीच भेटवार्ता, निर्वाचनमा गठबन्धन गर्ने विषयमा छलफल

    • Bishnu GC Bishnu GC
    • २०८२ पुष २०, आईतवार १२:४६ गते
    images

    मुलुक निर्वाचनमा होमिएपछि प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुबीच छलफल हुन थालेको छ। आइतबार एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डबीच भेट भएको छ।

    ललितपुरको एक घरमा दुई नेताबीच छलफल भएको हो। सो छलफलमा राष्ट्रिय सभा निर्वाचन र फागुन २१ मा घोषित प्रतिनिधिसभा निर्वाचनलगायत समसामयिक विषयमा छलफल भएको बताइएको छ।

    राष्ट्रियसभा निर्वाचन माग ११ मा हुँदैछ। यो निर्वाचनमा मुख्यगरी तीन राजनीतिक दल नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बीच प्रतिस्पर्धा हुँदैछ। एक्ला एक्लै चुनावमा जाँदा सोचे अनुरुप परिणाम नआउने भएपछि दलहरुबीच सहकार्यको खोजी भइरहेको छ।

    यसैगरी फागुन २१ हुने प्रतिनिधिसभा निर्वाचनमा गठबन्धन गर्ने विषयमा पनि दलहरुले छलफल सुरु गरेका छन्। जेनजी आन्दोलनपछि रक्षात्मक बनेका पुराना दलहरु गठबन्धन गरेर चुनावमा जाने वातावरणको खोजीमा छन्।

    नयाँ शक्तिका रुपमा उदाएको दल रास्वपामा काठमाडौं महानगरपालिकाका मेयर बालेद साह, उज्यालो नेपाल पार्टी विलय भएपछि पुराना दल दबावमा परेका छन्। चुनाव हुने अवस्थामा कसरी आफ्नो अस्तित्व जोगाउने भन्ने चिन्तामा रहेका बेला दलका प्रमुख नेताहरु यतिबेला औपचारिक र अनौपचारिक रुपमा भेटघाटमा व्यस्त छन्।

    उता नेपाली कांग्रेस भने नियमित महाधिवेशन गर्ने कि विशेष महाधिवेशन भन्ने विवादमा अल्झेको छ। यस्तो बेलामा ओली र प्रचण्डबीचको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ।

    प्रचण्ड आजै नयाँ दिल्ली उड्ने कार्यतालिका छ। उनी पार्टीनिकट प्रवासी संगठनको भेलालाई सम्बोधन गर्न आज नयाँ दिल्ली जान लागेका हुन्। उनको अन्य कार्यक्रम भने खुलाइएको छैन। उनी भोलि (सोमबार) साँझ नै काठमाडौं फर्केिने कार्यतालिका रहेको उनको सचिवालयले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस्