images
  • सुर्खेतको सिम्तामा सञ्चार सेवाको गुणस्तर सुधार गर्न माग

    • chautaripatrika chautaripatrika
    • २०८३ कार्तिक १४, शुक्रबार १५:४० गते
    images

    टेकराज केसी, सुर्खेत । सुर्खेतको सिम्ता गाउँपालिकामा सञ्चार सेवाको गुणस्तर सुधारको माग गर्दै ज्ञापनपत्र बुझाइएको छ ।

    उद्योग वाणिज्य संघ–भेरी, उपशाखा सिम्ताको अगुवाईमा गाउँपालिकाका विभिन्न वडामा मोबाइल नेटवर्क तथा इन्टरनेट सेवामा सुधार ल्याउन माग गर्दै दूरसञ्चार प्राधिकरण कर्णाली प्रदेशलाई ज्ञापनपत्र बुझाइएको हो ।

    सिम्ता गाउँपालिकाका वडा नम्बर १, २ र ३ का नागरिकले रातिको समयमा टेलिफोन गर्नसमेत समस्या भोग्नुपरेको गुनासो गर्दै आएका छन् ।

    सञ्चार सेवा प्रभावकारी नहुँदा स्थानीय नागरिकलाई आफन्तसँग सम्पर्क गर्न, आवश्यक सूचना आदानप्रदान गर्न तथा आकस्मिक अवस्थामा सम्पर्क स्थापित गर्न कठिनाइ भइरहेको नेपाल शिक्षक महासंघ सिम्ता गाउँपालिकाका अध्यक्ष टोप बहादुर खत्री बताउछन् ।

    ‘सिम्ता गाउँपालिकामा सञ्चार सेवा गुणस्तरिय नहुँदा शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा व्यावक समस्या परिरहेको छ । अहिलेको प्रविधिको युगमा समेत यो समस्या भोग्नुपर्ने किन ? यो समस्या तत्काल समाधान गरियोस्,’ उनले भने ।

    सिम्ता गाउँपालिका वडा नम्बर ६ का व्यवसायी लक्ष्मी प्रसाद रेग्मीले पनि गाउँपालिकाका विभिन्न बस्तीमा मोबाइल नेटवर्क तथा इन्टरनेट सेवाको पहुँच र गुणस्तरमा समस्या रहेको उल्लेख गर्दै तत्काल सुधार गर्न माग गरे ।

    रातीमा फोन नै लाग्दैन्, इन्टरनेट सेवा त कता हो, कता । उहाले भने, ‘हामी समस्या तत्काल समाधान होस्, भन्ने चाहान्छौ, अहिलेको अवस्थामा पनि नागरिक सञ्चार सेवाबाट वञ्चित हुनु भनेको अपराध होइन र ?’

    त्यहाँको सञ्चार समस्या तत्काल समाधान गर्नुपर्ने माग गरि आफुहरुले दुर सञ्चार प्राधिकरण कर्णालीलाई ध्यानकर्षण गराइएको उद्योग वाणिज्य संघ–भेरी, उपशाखा सिम्ताका अध्यक्ष गंगा प्रसाद ढकालले बताए ।

    सञ्चार सेवाको समस्या समाधान, मोबाइल नेटवर्कको गुणस्तर सुधार तथा नेपाल टेलिकमको भरपर्दो इन्टरनेट सेवा विस्तारको माग गरिएको उनको भनाई छ ।

    नेटवर्क कमजोर भएका स्थानमा क्षमता विस्तार, पूर्वाधार विकास तथा नियमित मर्मतसम्भारको व्यवस्था गर्न आग्रह गरेका छौँ, अध्यक्ष ढकाल भन्छन्, ‘सिम्ताका जामुने बजार, गोर्जी बजारलगायत प्रमुख व्यापारिक केन्द्रमा उच्च गतिको इन्टरनेट सेवा विस्तार गर्न र सम्भव भएका स्थानमा फाइबर इन्टरनेटको सुविधा उपलब्ध गराउन माग गरेका छौँ।”

    ग्रामीण क्षेत्रका सरकारी कार्यालय, विद्यालय, स्वास्थ्य संस्था, व्यवसायी तथा सर्वसाधारणलाई लक्षित गरी गुणस्तरीय र भरपर्दो सञ्चार सेवा उपलब्ध गराउन दीर्घकालीन योजना बनाउनुपर्नेमा पनि जोड दिइएको छ ।

    सञ्चार सेवाको समस्याले विद्यार्थीको अनलाइन अध्ययन, शिक्षकको डिजिटल शिक्षण, व्यवसायीको अनलाइन कारोबार तथा सरकारी सेवाको प्रवाहमा असर पारिरहेको संघको अध्यक्ष ढकालको भनाइ छ ।

    स्वास्थ्य सेवा तथा आपतकालीन अवस्थामा आवश्यक सूचना आदानप्रदान गर्नसमेत भरपर्दो सञ्चार सेवा अपरिहार्य रहेको ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

    साथै, माग सम्बोधनका लागि चालिने प्रक्रिया, सम्भावित समयसीमा र प्रगतिको जानकारी उपलब्ध गराउनसमेत आग्रह गरेको छ ।

    सञ्चार सेवा नागरिकको आधारभूत आवश्यकता भएकाले सिम्ताका ग्रामीण बस्तीमा देखिएको नेटवर्क तथा इन्टरनेटसम्बन्धी समस्या समाधान गरी सबै नागरिकको पहुँचमा गुणस्तरीय सेवा पुर्‍याउन सम्बन्धित निकायले पहल गर्नुपर्नेमा संघले जोड दिएको छ ।

    यता, ज्ञापनपत्र बुझ्दै नेपाल दूरसञ्चार प्राधिकरण कर्णाली प्रदेशका निर्देशक निरण जोशीले सिम्ता क्षेत्रमा देखिएको सञ्चारसम्बन्धी समस्या छिट्टै सम्बोधन हुने गरी काम अघि बढाउने बताए ।

    उनले स्थानीय नागरिकले भोग्नुपरेका समस्यालाई ध्यानमा राख्दै आवश्यक पहल गरिने प्रतिवद्धता जनाए ।

    ज्ञापनपत्र बुझाउन सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष हर्षविक्रम खड्का, उपमहासचिव पूर्णप्रसाद अधिकारी, गैरसरकारी महासंघ कर्णाली प्रदेशका अध्यक्ष घनश्याम केसी तथा स्थानीय लक्ष्मीकुमार रेग्मीलगायतको टोली पुगेको थियो ।

    प्रतिक्रिया दिनुहोस्