images
  • ममता काफ्ले बेपत्ता प्रकरण : श्रीमती हत्याको आरोप लागेका नरेश भट्टको मुद्दामा सुनुवाइ सुरु

    • chautaripatrika chautaripatrika
    • २०८३ आश्विन २३, शुक्रबार १०:०० गते
    images
    images
    images

    काठमाडौँ। भर्जिनियाको मनासस पार्कमा आफ्नी श्रीमतीको हत्या गरेको आरोप लागेका नरेश भट्टको मुद्दामा सुनुवाइ सुरु भएको छ। बुधबार १७ सदस्यीय इजलास गठन भएसँगै वादी र प्रतिवादी पक्षले आफ्ना प्रारम्भिक भनाइ राखेका छन्। 

    इजलासमा ५ वैकल्पिक सदस्यसहित ६ पुरुष र ११ महिला छन्। यो सुनुवाइ करिब सात हप्ता चल्ने अनुमान गरिएको छ।नरेशमाथि आफ्नी श्रीमती ममता काफ्ले भट्टको हत्या गरी शव लुकाएको आरोप छ। सन् २०२४ को जुलाईदेखि बेपत्ता ममताको शव अहिलेसम्म फेला परेको छैन। 

    नरेशले आफूमाथि लागेको फर्स्ट डिग्री मर्डर (नियोजित हत्या), शव लुकाएको र शवलाई क्षतविक्षत पारेको तीनवटै आरोप अस्वीकार गर्दै आएका छन्। न्यायाधीशले अदालतभित्र क्यामेरा लैजान अनुमति दिएका छन्। यद्यपि प्रत्यक्ष प्रसारणमा भने रोक लगाइएको छ।

    प्रिन्स विलियम काउन्टीका डेपुटी कमनवेल्थ महान्यायाधिवक्ता म्याथ्यु स्विटले वादीको तर्फबाट बहस सुरु गरे। उनले जुरीलाई ममता हराउनुअघिको उनको जीवन सम्झन आग्रह गरे। 

    ममताले आफ्नी आमालाई दैनिक फोन गर्ने, सामाजिक सञ्जाल चलाउने र सानी छोरीलाई असाध्यै माया गर्ने कुरा स्विटले इजलासमा सुनाए। उनले प्रश्न गरे, ‘यो सब एक्कासि कसरी र किन रोकियो ?’

    श्रीमती हराएको विषयमा नरेशले प्रहरी र सञ्चारमाध्यमलाई पत्याउनै नसकिने मनगढन्ते कुरा बताएको आरोप अभियोजनकर्ताले लगाएका छन्। ममताको शव नभेटिए पनि नरेशविरुद्ध शक्तिशाली र विश्वासिलो परिस्थितिजन्य प्रमाण रहेको उनीहरूको दाबी छ।

    अभियोजनकर्ताका अनुसार भट्ट दम्पतीको घर र एउटा आरामा रगत भेटिएको थियो। उक्त रगतको डीएनए ममतासँग मिलेको छ। श्रीमती हराएको केही दिनपछि नरेशले उक्त आरा एक जना जग्गा व्यवस्थापकलाई दिएको अभियोजन पक्षले जनाएको छ। त्यसैगरी नरेशले सरसफाइका सामान किनेको र पन्जा लगाएर विभिन्न ठाउँमा फोहोर फालेको भिडियो फुटेजसमेत प्रमाणका रूपमा पेस गरिने भएको छ।

    यसबाहेक नरेशको मोबाइल अनुसन्धान गर्दा उसले श्रीमती हराएमा वा मृत्यु भएमा के हुन्छ भनी गुगलमा खोजेको तथ्य फेला परेको छ। ‘भर्जिनियामा डिभोर्सको क्रममा श्रीमती हराएमा के हुन्छ ?’ स्विटले इजलासमा भने, ‘श्रीमती हराएमा के हुन्छ, डिभोर्स चाहिएको छ, भर्जिनियामा श्रीमतीको मृत्यु भयो भने के हुन्छ जस्ता कुरा उसले गुगलमा खोजेको थियो।’ हत्याअघि नै नरेशले यस्ता कुरा खोज्नुले अपराध पूर्वनियोजित रहेको प्रमाणित हुने अभियोजनकर्ताको तर्क छ।

    भट्ट दम्पतीको वैवाहिक सम्बन्ध निकै खराब अवस्थामा पुगेको र ममताले श्रीमान् छोड्ने विषयमा साथीहरूसँग कुरा गर्ने गरेको पनि इजलासमा खुलाइएको छ। ममतालाई आफ्नै बैंक खाता खोल्न, छुट्टै फोन लिन र बस्ने अर्को ठाउँ खोज्न साथीहरूले सघाएका थिए। 

    ममता अमेरिकी नागरिकता पाउने अन्तिम चरणमा पुगेकी थिइन्। तर अगस्ट ५ मा हुने भनिएको अन्तिम अन्तर्वार्तामा उनी उपस्थित भइनन्। यसबारे उनले अधिकारीहरूलाई कुनै जानकारीसमेत दिएकी थिइनन्। श्रीमती बेपत्ता भएकै समयमा नरेशले आफ्नो घर बेच्ने प्रयास गरेको कुरालाई पनि अभियोजन पक्षले शङ्कास्पद मानेको छ।

    प्रतिवादी पक्षका तर्फबाट प्रिन्स विलियम काउन्टीकी प्रमुख पब्लिक डिफेन्डर ट्रेसी लेनोक्सले बहस गरिन्। करिब १० मिनेट चलेको आफ्नो प्रारम्भिक बहसमा उनले ममतालाई के भयो भन्नेबारे कुनै ठोस तर्क पेस गरिनन्। 

    तर वादी पक्षको प्रमाणमा ठुलो समस्या रहेको दाबी उनले गरिन्। लेनोक्सले जुरीलाई साक्षीहरूको पूर्वाग्रह र समयसँगै उनीहरूको स्मरणशक्तिमा परेको असरलाई ध्यान दिन आग्रह गरिन्। उनले भनिन्, ‘त्यहाँ एउटा यस्तो प्वाल छ, जसलाई सरकारी पक्षले कहिल्यै पुर्न सक्ने छैन।’

    बहसपछि वादी पक्षले आफ्ना साक्षीहरूलाई उभ्याउन सुरु गर्‍यो। पहिलो साक्षीका रूपमा यूभीए हेल्थ प्रिन्स विलियम मेडिकल सेन्टरकी नर्स म्यानेजर जेसिका हारासेकले बयान दिइन्। ममता लगातार दुई दिन काममा नआएपछि र सम्पर्क गर्न नसकेपछि आफूले प्रहरीलाई खबर गरेको उनले बताइन्। 

    ममता हराएपछि उनीसँग कुनै सम्पर्क भएको छ त भनी सोधिएको प्रश्नमा जेसिका भावुक बनिन्। उनले छोटो जवाफ दिइन्, ‘छैन।’

    त्यसपछि मनासस पार्क प्रहरी विभागका सार्जेन्ट ब्रान्डन जोन्सनले बयान दिए। अगस्ट २ मा भट्टको घरमा अवस्था बुझ्न (वेलनेस चेक) गएका बेलाको करिब १३ मिनेट लामो बडी-क्यामेरा भिडियो जुरीलाई देखाइएको थियो। 

    जोन्सनका अनुसार प्रहरीले सोध्नुअघि नै नरेशले अनावश्यक कुराहरू गर्न थालेका थिए। ‘हामीले ममता भट्ट यहाँ बस्छिन् भनी सोध्यौँ,’ जोन्सनले बयानमा भने, ‘उसले तुरुन्तै भन्यो, ऊ गई। दिदीसँग टेक्सास वा न्युयोर्क गई र आफ्नो फोन फुटाई।’

    त्यो दिन नरेशले ममता हराएको कुरा प्रहरीलाई बताएका थिएनन्। तर प्रतिप्रश्नका क्रममा प्रतिवादी पक्षका वकिलले सोधेको प्रश्नमा जोन्सनले आफूहरू ममतालाई नै खोज्दै आएको कुरा नरेशलाई बताएको स्वीकार गरे।

    पहिलो पटक घरमा जाँदा नरेशले प्रहरीको सम्पर्क नम्बर मागेको तर प्रहरीले बेपत्ता भएको उजुरी दर्ता गर्न कुनै सुझाव नदिएको कुरा पनि अदालतमा खुलाइएको थियो। ग्रे रङको सुट लगाएर अदालतमा उपस्थित भएको नरेशले दिनभर चुपचाप सुनुवाइ सुनेका थिए।

    प्रतिक्रिया दिनुहोस्