दैलेखको जलजले क्षेत्रमा चिनियाँ प्राविधिक टोलीद्वारा भइरहेको प्राकृतिक ग्यास उत्खनन कार्य अचानक रोकिएपछि त्यसको आधिकारिक जानकारी माग्दै प्रतिनिधि सभामा प्रश्न उठेको छ।
नेपाली कांग्रेसका सांसद कालीबहादुर सहकारीले उत्खनन क्षेत्र सुरक्षाकर्मीको मात्र नियन्त्रणमा रहनु र प्राविधिक पक्ष बेपत्ता हुनुले शङ्का उब्जाएको भन्दै सरकारको गम्भीर ध्यानाकर्षण गराएका हुन्।
प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले आफूले हालै गरेको अनुगमनका क्रममा उक्त क्षेत्रमा कुनै पनि विशेषज्ञ वा प्राविधिक टोली नभेटिएको जानकारी सदनलाई गराए। असोज १४ गते जलजले पुग्दा त्यहाँ सुरक्षाका लागि खटिएका प्रहरी अधिकृतबाहेक अन्य कोही नभएको र योजनाको काम पूर्ण रूपमा स्थगित अवस्थामा रहेको उनले बताए।
सांसद सहकारीका अनुसार उक्त आयोजनाबाट कम्तीमा ५० वर्षसम्म पुग्ने मिथेन ग्यास उत्पादन हुने प्रारम्भिक दाबी गरिएको थियो। यति ठुलो सम्भावना बोकेको आयोजना अलपत्र पर्नु चिन्ताजनक रहेको उल्लेख गर्दै उनले भने, ‘यति ठुलो महत्त्व बोकेको राष्ट्रिय गौरवको आयोजनाका बारेमा सरकार किन बेखबर छ? सरकार र प्राविधिक टोलीबिच समन्वय छ कि छैन वा कुनै प्रतिवेदन तयार हुँदैछ? यदि आफ्नो देशमा उत्पादित वस्तुबाट आत्मनिर्भर हुन सकिन्छ भने हामी किन परनिर्भरताको पर्खाइमा बस्ने? यस विषयमा सरकारले अविलम्ब जनमानसमा स्पष्ट धारणा सार्वजनिक गर्नुपर्छ।’


Bishnu GC 


















प्रतिक्रिया दिनुहोस्