images
  • गायक खेम सेञ्चुरी साइबर ब्युरोमा…

    • chautaripatrika chautaripatrika
    • २०८३ आश्विन १३, मंगलवार २२:३६ गते
    images
    images
    images

    लोक तथा दोहोरी क्षेत्रमा खेम सेञ्चुरी एक बहु प्रतिभा भएका सर्जकका रुपमा चिनिएको नाम हो । गायन, शब्द लेखन, संगीत र अभिनय यी सबै बिधामा उत्कृष्ट  सेञ्चुरी अहिले निकै व्यस्त छन । उनले सिर्जना गरेका र गाएका गीत जती चर्चित र रुचाइएका छन् त्यत्तिकै  दर्शक श्रोताको माया पनि  छ ।

    तर हालै सार्बजनिक भएको एउटा गीतले भने उनलाई साईबर ब्युरोसम्म पुर्याएको छ। खेम सेञ्चुरीको स्वर, रचना तथा संगीतमा बजारमा आएको ‘बाहुन बाजे किन कासेको’ बोलको गीतले बाहुन समुदायलाई होच्याएको भन्दै नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी परेको छ हो । 

    करिब एक महिनाअघि युट्युबमार्फत सार्वजनिक भएको उक्त गीत र भिडियोले सनातन हिन्दू धर्मको एकता र सामाजिक सद्भाव बिथोल्न खोजेको आरोप लगाउँदै हिन्दुवादी अभियन्ता सागर थापाले ब्युरोमा उजुरी दिएका हुन्।

    विशेष गरी गीतमा समावेश ‘खान्छौ कि खान्नौ बंगुरको मासु, लौ खाऊ न त सुंगुरको मासु’ भन्ने शब्द र भिडियोका दृश्यप्रति हिन्दुवादी अभियन्ताहरूले कडा आपत्ति जनाएका छन्।

    उक्त उजुरीका आधारमा छलफलका लागि ब्युरोले मङ्गलबार गायक सेञ्चुरीलाई बोलाएको थियो। ब्युरोका प्रवक्ता एसपी दिलीप गिरीले गायक सेञ्चुरीलाई बोलाएर दुवै पक्षबीच छलफल गराइएको पुष्टि गरेका छन्।

    मङ्गलबार भएको छलफलमा हिन्दु जागरण नेपालका अध्यक्ष प्राध्यापक रामकृष्ण उपाध्याय, भागवत कथावाचक आचार्य मुकुन्द नेपाल, विश्व हिन्दु युवा संघ अन्तर्राष्ट्रिय समितिका अध्यक्ष सागर थापा, र ओम सनातन संस्कृति समाजका अध्यक्ष रोजबहादुर मोक्तान लगायतका अभियन्ताहरूको उपस्थिति रहेको थियो।

    तथापि, मङ्गलबारको वार्ता कुनै निष्कर्षमा पुग्न सकेन। गीत संशोधन गर्ने वा युट्युबबाट पूर्ण रूपमा हटाउने भन्ने विषयमा टुङ्गो नलागेपछि साइबर ब्युरोले थप छलफलका लागि दुवै पक्षलाई बुधबार दिउँसो १ बजे पुनः बोलाएको छ।

    प्रतिक्रिया दिनुहोस्