images
  • भेरी अस्पताल सुधार्ने सपना देखिरहेका सत्यनारायण थारू को हुन् ?

    • chautaripatrika chautaripatrika
    • २०८३ आश्विन ७, बुधबार १२:०२ गते
    images
    images
    images

    बर्दियाको राजापुर घर भएका सत्यनारायण थारू विगत १८ वर्षदेखि नेपालगन्जसँग जोडिएका छन्। लामो समयदेखि नेपालगन्जमा रहेर व्यवसाय, सामाजिक सेवा, मोडलिङ तथा अभिनय क्षेत्रमा सक्रिय थारूले यहाँ आफ्नो छुट्टै पहिचान बनाएका छन्। अहिले भने उनको सपना व्यक्तिगत परिचय र व्यवसायभन्दा माथि उठेर एउटा ठूलो सार्वजनिक संस्थासँग जोडिएको छ– नेपालगन्जको भेरी अस्पताललाई अझ व्यवस्थित, सेवामुखी र प्रभावकारी बनाउने।

    ३३ वर्षीय सत्यनारायण होटल व्यवसायमा संलग्न छन्। उनी होटलका सञ्चालकसँगै सामाजिक सेवामा पनि सक्रिय छन्। मोडलिङ तथा अभिनयमा समेत रुचि राख्ने उनी Mr. Nepal का फाइनलिस्ट समेत हुन्। विभिन्न सामाजिक तथा सार्वजनिक गतिविधिमा सक्रिय रहँदै आएका थारू अहिले स्वास्थ्य क्षेत्रको सुधारलाई आफ्नो प्राथमिकतामध्ये एक बनाउन चाहन्छन्।

    नेपालगन्जमा लामो समयदेखि बस्दै आएका कारण यहाँका नागरिकका विभिन्न समस्या र आवश्यकतालाई नजिकबाट बुझ्ने अवसर पाएको उनी बताउँछन्। यही क्रममा पश्चिम नेपालकै महत्वपूर्ण स्वास्थ्य संस्था भेरी अस्पतालको अवस्था र सेवासँग पनि उनको चासो जोडिएको हो।

    “भेरी अस्पताललाई अझ राम्रो बनाउन सकिन्छ भन्ने मेरो सपना हो। त्यसका लागि स्पष्ट भिजन, योजना र व्यवस्थापन आवश्यक छ,” सत्यनारायण भन्छन्।

    भेरी अस्पतालमा उपचारका लागि बाँकेसहित पश्चिम नेपालका विभिन्न जिल्लाबाट बिरामी आउने गर्छन्। ठूलो संख्यामा सेवाग्राही आउने सार्वजनिक स्वास्थ्य संस्थाको व्यवस्थापन सहज विषय भने होइन। अस्पतालको सेवा, जनशक्ति, पूर्वाधार, उपकरण र प्रशासनिक व्यवस्थापनलाई एकसाथ सुधार गर्नुपर्ने आवश्यकता देख्ने सत्यनारायण त्यसका लागि नेतृत्वमा स्पष्ट दृष्टिकोण आवश्यक रहेको बताउँछन्।

    उनको बुझाइमा अस्पताल सुधार केवल एउटा व्यक्तिको प्रयासबाट सम्भव हुँदैन। त्यसका लागि योजना बनाएर काम गर्ने, जिम्मेवारी विभाजन गर्ने, योग्य जनशक्तिलाई उचित ढंगले परिचालन गर्ने, निर्देशन तथा समन्वय गर्ने र नियमित अनुगमन गर्ने व्यवस्थापन प्रणाली आवश्यक हुन्छ।

    योजना निर्माण, संगठन तथा व्यवस्थापन, जनशक्ति व्यवस्थापन, निर्देशन तथा मार्गदर्शन. र नियन्त्रण तथा अनुगमन ,    लाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सके अस्पतालको सेवा प्रवाहमा सुधार ल्याउन सकिने उनको धारणा छ।अस्पताल सुधार्न सबैभन्दा पहिले समस्या पहिचान गरेर योजना बनाउनुपर्छ। त्यसपछि जिम्मेवारी स्पष्ट हुनुपर्छ। जनशक्तिको उचित परिचालन, प्रभावकारी निर्देशन र निरन्तर अनुगमन भयो भने धेरै समस्या समाधान गर्न सकिन्छ  उनी भन्छन्।

    थारू समुदायबाट नेतृत्व गर्ने सपना

    सत्येनारायणको भेरी अस्पतालसँग जोडिएको सपना व्यक्तिगत महत्वाकांक्षामा मात्र सीमित छैन। आफू थारू समुदायबाट आएको उल्लेख गर्दै उनले लामो इतिहास बोकेको भेरी अस्पतालको नेतृत्व तहमा आफ्नो समुदायबाट नेतृत्वको उपस्थिति नदेखिएको विषयलाई पनि चासोका रूपमा लिएका छन्।

    उनको सपना छ– योग्यता, क्षमता र स्पष्ट योजनाका आधारमा आफूजस्तो नयाँ पुस्ताले पनि सार्वजनिक संस्थाको नेतृत्व गर्ने अवसर पाउनुपर्छ।

    तर उनी यसलाई केवल समुदायको प्रतिनिधित्वको विषयमा सीमित गर्न चाहँदैनन्। अस्पतालको नेतृत्व गर्ने व्यक्तिसँग आवश्यक योग्यता, व्यवस्थापन क्षमता, भिजन र काम गर्ने प्रतिबद्धता हुनुपर्ने उनको धारणा छ।

    म थारू समुदायबाट आएको हुँ, यो मेरो पहिचान हो। तर अस्पतालको नेतृत्वको विषय समुदायको मात्र होइन। योग्य र सक्षम व्यक्तिले जिम्मेवारी पाएर परिणाम दिन सक्नुपर्छ भन्ने मेरो सोच हो, उनी भन्छन्।

    व्यवसायदेखि सामाजिक सेवासम्म

    राजापुरबाट नेपालगन्ज आएपछि सत्येनारायणले विभिन्न क्षेत्रमा आफ्नो संलग्नता बढाउँदै लगे। व्यवसायमा होटल सञ्चालन, सामाजिक क्षेत्रमा विभिन्न गतिविधि, मोडलिङ र अभिनय हुँदै उनको सार्वजनिक परिचय विस्तार हुँदै गएको छ।

    Mr. Nepal का फाइनलिस्ट बनेको अनुभवले पनि उनलाई सार्वजनिक क्षेत्रसँग नजिक बनाएको छ। तर अहिले उनी आफ्नो व्यक्तिगत परिचयभन्दा सामाजिक योगदानलाई प्राथमिकतामा राख्न चाहन्छन्।

    नेपालगन्जमा करिब १८ वर्षको बसाइका क्रममा यहाँका नागरिकसँगको सम्बन्ध र सामाजिक गतिविधिमा भएको सहभागिताले उनलाई स्थानीय समस्यालाई नजिकबाट बुझ्ने अवसर दिएको उनको भनाइ छ।

    भेरीको मुहार फेर्ने सपना कति सम्भव?

    भेरी अस्पतालजस्तो ठूलो सार्वजनिक स्वास्थ्य संस्थाको व्यवस्थापनमा चुनौतीहरू पनि उत्तिकै छन्। ठूलो संख्यामा आउने बिरामी, सीमित स्रोतसाधन, जनशक्ति व्यवस्थापन, पूर्वाधार तथा सेवा प्रवाहजस्ता विषयलाई सम्बोधन गर्न दीर्घकालीन योजना आवश्यक हुन्छ।

    सत्येनारायण भने इच्छाशक्ति र योजनासहित अघि बढ्न सके सुधार सम्भव रहेको बताउँछन्।

    उनको प्राथमिकतामा अस्पतालमा आउने सेवाग्राहीले सहज रूपमा सेवा पाउने वातावरण निर्माण गर्नु छ। बिरामीले अनावश्यक झन्झट व्यहोर्न नपरोस्, सेवा प्रवाह छिटो होस् र अस्पतालप्रतिको नागरिकको विश्वास अझ बलियो बनोस् भन्ने उनको चाहना छ।

    तर सपना देख्नु र त्यसलाई कार्यान्वयन गर्नुबीच ठूलो अन्तर हुन्छ। त्यसैले सत्येनारायणको अगाडिको चुनौती पनि स्पष्ट छ– आफ्नो योजना व्यवहारमा कसरी उतार्ने?

    नेतृत्व पाए के गर्छन्?

    सतनारायण आफूले अवसर पाए अस्पतालको वर्तमान अवस्था अध्ययन गरेर प्राथमिकताका आधारमा सुधारको योजना अघि बढाउने बताउँछन्।

    पहिलो चरणमा समस्या पहिचान, त्यसपछि योजना निर्माण, जनशक्ति व्यवस्थापन, सेवा प्रवाहमा सुधार, आवश्यक पूर्वाधारको विकास र नियमित अनुगमनलाई प्राथमिकतामा राख्ने उनको सोच छ।

    उनका लागि अस्पतालको सुधार भवन र उपकरण थप्नुमा मात्र सीमित छैन। अस्पतालभित्रको व्यवस्थापन प्रणाली र सेवाग्राहीले पाउने अनुभवमा पनि परिवर्तन आउनुपर्ने उनको बुझाइ छ।

    अस्पताल भनेको भवन मात्र होइन। अस्पतालमा आउने बिरामीले पाउने सेवा नै यसको वास्तविक पहिचान हो। त्यसैले व्यवस्थापन र सेवाग्राही दुवै पक्षलाई केन्द्रमा राखेर काम गर्नुपर्छ,” सत्येनारायण भन्छन्।

    प्रतिक्रिया दिनुहोस्