बाँकेको कोहलपुरस्थित थापा पोलिक्लिनिकमा घटेको घटना र त्यसपछि सामाजिक सञ्जालमा भाइरल भिडियोले नागरिकको व्यक्तिगत गोपनीयताको हकमाथि गम्भीर प्रश्न उठाएको छ।
बाँकेको कोहलपुर–११ रेडक्रस रोडस्थित थापा पोलिक्लिनिकमा शनिबार अपरान्ह उपचारका लागी पुगेकी एक युवतीले स्वास्थ्य जाँचका क्रममा आफूमाथि यौन दुर्व्यवहार भएको भन्दै इलाका प्रहरी कार्यालय कोहलपुरमा किटानी जाहेरी दिएकी थिइन्।
जाहेरीका आधारमा सञ्चालक तथा स्वास्थ्यकर्मी ६३ वर्षीय गणेशबहादुर थापालाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ।
तर, कानुनी अनुसन्धान निष्कर्षमा नपुग्दै मेडिकलभित्र दुवै पक्षबीच भनाभन भएको र युवतीले थापामाथि हातपात गरेको दृश्यसहितको भिडियो केही सामाजिक सञ्जाल र अनलाइनमा सार्वजनिक गरिँदा पीडित युवती र आरोपी दुवैको गोपनीयतामाथि प्रश्न उठ्न थालेको छ।
विशेष गरी यौन दुर्व्यवहारजस्तो अत्यन्तै संवेदनशील विषयमा पीडितको पहिचान, व्यक्तिगत मर्यादा र गोपनीयताको रक्षा गर्नु कानुनी तथा नैतिक दायराभित्र पर्छ। तर, प्रहरी अनुसन्धान निष्कर्षमा नपुग्दै भिडियोहरू सामाजिक सञ्जालका छरपस्ट बनाइँदा दुवैको गोपनीयताको हकमाथि गम्भीर प्रश्न उठेको हो।
प्रहरीको निष्पक्ष छानबिनलाई नै असर पुग्ने गरी र संवेदनशील विषयमा असंवेदनशीलता देखाउँदै यसरी भिडियो सार्वजनिक गरिँदा पीडित झन् ठूलो सामाजिक र मानसिक तनावमा पर्ने जोखिम रहने हुनाले यस्ता हर्कतले न्याय सम्पादनको कानुनी प्रक्रियालाई समेत प्रभावित पार्न सक्ने भन्दै सरोकारवालाहरूले चिन्ता व्यक्त गरेका छन्।
व्यवसायी संघको आपत्ति
यसैबीच, घटनापछि नेपाल औषधि व्यवसायी संघ, जिल्ला शाखा बाँकेले एक विज्ञप्ति जारी गर्दै घटनाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। संघका कार्यवाहक अध्यक्ष पवनकुमार बाँनियाद्वारा हस्ताक्षरित विज्ञप्तिमा स्वास्थ्यकर्मी वा व्यवसायीबाट कुनै त्रुटि वा गल्ती भएको भए निष्पक्ष छानबिन गरी कानुनी कारबाही अघि बढाउन आफूहरूको पूर्ण समर्थन रहने स्पष्ट पारिएको छ।
तर, कुनै पनि आरोपका आधारमा पर्याप्त प्रमाण र कानुनी प्रक्रिया बिना नै मेडिकलभित्रै प्रवेश गरी गैरकानुनी रूपमा हातपात, कुटपित तथा अभद्र व्यवहार गरिनु र त्यसका सामग्रीहरू सामाजिक सञ्जालमा सम्प्रेषण गरिनुले पेसागत सुरक्षामा गम्भीर खतरा पैदा गरेको संघको ठहर छ।
संघले आरोप लागेका व्यक्तिमाथि कानुनी छानबिन हुनुपर्ने कुरामा जोड दिँदै कानुन हातमा लिएर अभद्र व्यवहार गर्ने तथा गोपनीयताको ख्याल नगरी भिडियो सार्वजनिक गर्नेहरूमाथि पनि कानुनी कारबाही हुनुपर्ने र व्यवसायीको पेसागत सुरक्षाको ग्यारेन्टी गरिनुपर्ने माग स्थानीय प्रशासनसँग राखेको छ।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार थापा नेपाल मेडिकल काउन्सिलको आचारसंहिता तथा व्यावसायिक आचरण, २०७४ मा उल्लेखित व्यवस्थाविपरीत उपचारमा संलग्न भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ । उनि वरिष्ठ स्वास्थ्य सहायक तहका (सिएमए) स्वास्थ्यकर्मी हुन् ।
हाल प्रहरीले अदालतबाट ७ दिनको म्याद थप गरी घटनाको अनुसन्धान जारी राखेको छ। अहिले एकातिर पीडितले न्याय पाउनुपर्ने र दोषीमाथि कडा कारबाही हुनुपर्ने माग उठेको छ भने अर्कोतिर अनुसन्धान अगावै भिडियो सार्वजनिक गरी गोपनीयता हनन गर्ने र कानुन हातमा लिने प्रवृत्तिलाई निरुत्साहित गरिनुपर्ने आवाज उठेको छ।


chautaripatrika 


















प्रतिक्रिया दिनुहोस्