माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजनाको सुरूङमा १८ वटा शव फेला परेका छन्। भोटेकोशी नदिमा भदौ १० गते आएको विनाशकारी बाढीका कारण बेपत्ता भएकाहरुको खोजी कार्य गर्नेमा शुक्रबार सुरूमा अडिट–३ टनेलभित्र छडको जालीमा अल्झिएको अवस्थामा ६ वटा शव फेला परेका थिए। फेरि खोजीका क्रममा थप १२ वटा शव देखिएको र निकाल्ने प्रयास भइरहेको प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डेले बताए।
‘जाली भित्र देखिएको तर सबै शाव निकाल्न बाकी रहेको सूचना प्राप्त भएको छ।,’पाण्डेले भने। आयोजनाको सुरूङबाट यसअघि विभिन्न मितिमा १५ वटा शव निकालिएको छ। शवको सनाखत हुन सकेको छैन। माथिल्लो त्रिशूली –१ को सुरूङमा कम्तिमा ३ सय जना फसेको हुन सक्ने आशंका गरिएको छ।
बाढीमा हराएका मानिसहरुको खोज तथा उद्धार कार्य जारी रहेको छ। जलविद्युत आयोजनाका टनेलमा उद्धार कार्य ढिलाइ भएकोले जिवित उद्धारको सम्भावना टरेको बाढी प्रभावित तथा बेपत्ता भएका व्यक्तिका आफन्तहरु बताउँछन्।
बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिकाका १२ जनाको कुशको शव बनाएर दाहसंस्कार गरिएको छ । अमलटारी स्थित नारायणी नदीको किनारमा बाह्र जनाको सामूहिक दाहसंस्कार गरिएको मध्यविन्दु नगरपालिका प्रमुख भिमलाल अधिकारीले बताए ।
रसुवाको टिमुरेमा रहेको तेन्जिङ शेर्पा हाईड्रो पावरमा लामो समयदेखि काम गर्दै आएका उनीहरु भदौ १० को बाढीमा परी बेपत्ता भएका थिए । मध्यविन्दु नगरपालिका १ सेतापानीका तिन जना र मध्यविन्दु ५ बाघखोरका नौ जना सम्पर्क विहीन भएदेखि नै यहाँको गाउँ शोकमा डुबेको छ ।
जिल्ला प्रशासन कार्यालयका अनुसार रसुवाको बाढीमा परेर मध्यविन्दु १ सेतापनीका हेम बहादुुर चौधरी, हुसन बहादुर थारु, कालीराम महतो थारु, मध्यविन्दु ५ बाघखोरका जीवन वि.क., गंगाराम मुखिया,विशाल मुखिया, सिताराम महतो, युद्ध महतो, एवदेव महतो, नुमनारायण महतो, केवल प्रसाद महतो र तेज बहादुर थारु बेपत्ता भएका थिए ।
सम्पर्क विहीन भएदेखि नै खोजी कार्यका गर्दा पनि लामो समयसम्म केहि पत्ता नलागेपछि धार्मिक परम्पराअनुसार अन्तिम संस्कार गरिएको पीडित परिवारले बताएका छन् । मध्यविन्दु नगरपालिकाले बेपत्ता नागरिकको खोजी कार्यमा लाग्दाको खर्च सहित काजक्रियाको लागि प्रत्येक परिवारलाई एक लाख रुपौलाका दरले राहत दिने निर्णय गरेको नगर प्रमुख अधिकारीले बताए ।
यता बाढीमा ज्यान गुमाएका नागरिकको शव व्यवस्थापन गरिएको भरतपुर–देवघाटस्थित स्थानमा स्मृति उद्यान निर्माण गरिने भएको छ ।भरतपुरमा आज आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी एवं जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष गणेश अर्यालले शव व्यवस्थापन गरिएको भरतपुर–देवघाटमा स्मृति उद्यान निर्माण गर्ने विषयमा छलफल भएको बताए । त्यसका लागि सल्लाहकार समिति, निर्माण समिति र स्रोत व्यवस्थापन समिति बनाएर स्मृति उद्यान निर्माणको कार्य अघि बढाउने उनले बताए ।
सो अवसरमा बाढीपछि जिल्लामा भएको खोज, उद्धार तथा शव व्यवस्थापनका गतिविधिको समीक्षा गरिएको थियो । चितवनमा सञ्चालन गरिएको खोज, उद्धार तथा शव सङ्कलन र व्यवस्थापन कार्यमा योगदान पुर्याउने व्यक्ति तथा संस्थालाई कदरपत्रसमेत प्रदान गरिएको थियो ।
प्रजिअ अर्यालले भोटेकोशी बाढीपछि जिल्लामा हालसम्म ३६४ शव फेला परेको जानकारी दिए । तीमध्ये ३५१ शव जमिनमुनि व्यवस्थापन गरिएको उनले बताए । हालसम्म १२ शव आफन्तले बुझेर लगेका र एउटा शव अस्पतालमा रहेको उनले बताए । बाढीमा परेर मरेका पशुको व्यवस्थापन भरतपुर महानगरपालिकाले गरेको उनले जानकारी दिए ।
चितवनमा स्थायी ठेगाना भएका १५ जनाका परिवारजनले बाढीमा हराएका भन्दै नाम टिपाएको उनले बताए ।प्रजिअ अर्यालले भने, “पवित्रस्थल देवघाटमा हामीले शवको व्यवस्थापन गरेका छौँ । सो स्थानमा उद्यान बनाउँदा उनीहरूका आफन्तजन आएर मन बुझाउन, बहलाउन सकिन्छ भनेर उद्यान बनाउने योजना बनाएका हौँ ।”
यसबाट भावी पुस्तालाई इतिहास दर्शाउन महत्त्वपूर्ण टेवा पुग्ने र भविष्यमा आवश्यक पर्दा अन्तर्राष्ट्रिय समुदायसँग क्षतिपूर्ति माग गर्ने तथा न्याय खोज्ने प्रयोजनका लागिसमेत प्रमाणका रूपमा रहने भएकाले उद्यान बनाउने सोच आएको उनले बताए ।
सो अवसरमा स्मृति उद्यानको डिजाइनसमेत प्रस्तुत गरिएको थियो । सघन सहरी विकास आयोजना चितवनका इञ्जिनियर दीपज्योति श्रेष्ठले स्मृति उद्यानको थ्रीडी डिजाइन प्रस्तुत गरे । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख नारायणप्रसाद अधिकारीले अभिभावकत्व ग्रहण गरेका थिए ।
भोटेकोशी घटना र चितवनमा गरिएको शव व्यवस्थापनका बारेमा नेपाली सेनाका तर्फबाट नयाँ सबुजदल गण भरतपुरका प्रमुख सेनानी सुदीप तामाङ, जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेल र सशस्त्र प्रहरी बल आँपटारीका प्रमुख धनबहादुर बानियाँले समीक्षा गरे ।जिल्लाका विभिन्न सङ्घसंस्थाका प्रतिनिधि, विभिन्न कार्यालयका प्रमुख एवं प्रतिनिधिलगायतको सहभागिता रहेको थियो ।


chautaripatrika 















प्रतिक्रिया दिनुहोस्