काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद सागर ढकालले कठिन परिस्थितिमा पनि खोला किनारमा अहाेरात्र खटिएर जीवन उद्धारको काम गरिरहेको स्पष्ट पार्दै विदेशी मिडियामा आएका भ्रामक कुराहरूको खण्डन गरेका छन्।
फिल्डबाटै भावुक सन्देश जारी गर्दै उनले आफूहरूले जीवन उद्धारलाई नै सर्वोपरि धर्म मानेर काम गरिरहेको बताएका छन्।
रातभरि नसुतिकन, लेदोले खुट्टा खाएर घाउ हुँदा र शरीरमा बिबिरा आए पनि १८ दिनभन्दा बढी समयदेखि फिल्ड नछोडी खटिरहेको बताउँदै सांसद ढकालले भनेका छन्, “राति अलिकति केही कुरा बिग्रियो भने मनमा पाप नै गरियो जस्तो हुन्छ। भित्र जीवित ६ जना भगवान् हुनुहुन्छ, सकेको धर्म गर्ने हो भनेर लागेको छु।”
स्वदेशीहरूले खुट्टा तानेको पीडਾ भुल्दै उनले अहिले विदेशी मिडियाले समेत इन्टरनेटका रिपोर्टहरूलाई तोडमोड गरेर गलत भाष्य निर्माण गर्न खोजेकोमा आपत्ति जनाएका छन्। आफूमाथि लाग्ने गरेका विभिन्न आरोपहरूको जवाफ दिन तयार रहेको बताउँदै उनले व्यङ्ग्य गर्दै भनेका छन्, “मलाई किन अमेरिकाको मात्र भन्छौ? सकिन्छ भने चिनियाँ एजेन्ट पनि भन, चीनको मन्त्रालय अन्तर्गत बसेर काम गरेको छु… भारतमा ६ महिना योग-ध्यान सिकेको छु, भारतीय एजेन्ट भन। के-के प्रमाण चाहिने हो, अफ्रिकादेखि युरोप र एसियाका प्रत्येक देशमा काम गरेको रिपोर्ट नै बुझाउन तयार छु।”
विपद्को यो घडीमा मानवता प्रदर्शन गर्न विदेशी र स्वदेशी मिडिया दुवैलाई आग्रह गर्दै उनले भनेका छन्, “खुट्टै तान्नु परे पनि यो उद्धार सकेपछि तान्नू। यस्तो दैवी विपत्ति पर्दा झन् दुःख दिनुभन्दा सकिन्छ भने सहयोग गरिदिनुस्, सक्दै सक्नुहुन्न भने पनि नकारात्मकता नफैलाइदिनुहोला।”
राजनीतिक प्रतिस्पर्धाभन्दा मानवीय धर्म ठूलो रहेको उल्लेख गर्दै ढकालले आफूले जीवनभर सात्विक जीवनशैली अपनाएको बताएका छन्। प्रदिप ज्ञवाली, चन्द्र भण्डारी वा शेरबहादुर देउवा जस्ता प्रतिद्वन्द्वीहरूप्रति कहिल्यै नराम्रो नसोचेको बताउँदै उनले शेरबहादुर देउवाको गाउँमै उनकै समर्थकबीच लाइनमा बसेर माला लगाएको प्रसंग पनि स्मरण गरेका छन्। नकारात्मकताले क्षणिक चर्चा दिलाए पनि दीर्घकालीन शान्ति र विकासका लागि सकारात्मकता नै अचुक अस्त्र भएको उनको भनाइ छ।
साथै सुरुङ वा प्रभावित क्षेत्रभित्र रहेका ६ जनालाई जीवितै उद्धार गर्न सकियो भने यो विश्वलाई नै झक्झक्याउने काम हुने विश्वास व्यक्त गर्दै उनले सबैलाई प्रार्थना र सहयोगका लागि अपिल गरेका छन्। “योभन्दा ठूलो धर्म जीवनमा अरू केही पनि हुँदैन भनेर काम गरेका छौँ। अरूले जे-जे भने पनि भगवान्रूपी जनताले निष्पक्ष न्याय गर्नेछन् भन्नेमा म ढुक्क छु,” सांसद ढकालले भनेका छन्।



chautaripatrika 




















प्रतिक्रिया दिनुहोस्