• images
    images

    ब्रिक्स शिखर सम्मेलन : दिल्लीको सुरक्षा व्यवस्था कडा

    • Bishnu GC Bishnu GC
    • २०८३ भाद्र २८, आईतवार १८:५२ गते
    images
    images
    images
    images

    नयाँ दिल्लीस्थित भारत मण्डपममा १८औँ ब्रिक्स शिखर सम्मेलनको दोस्रो दिन सुरक्षा व्यवस्था कडा पारिएको छ ।

    आइतबार दिल्ली प्रहरीले सार्वजनिक सूचना जारी गर्दै भीआईपी आवागमनका कारण राष्ट्रिय राजधानीका विभिन्न क्षेत्रमा यातायात प्रभावित हुने जनाएको छ।

    प्रहरीले सर्वसाधारणलाई सार्वजनिक यातायात प्रयोग गर्न तथा तोकिएका वैकल्पिक मार्गहरू अपनाउन आग्रह गरेको छ।

    विमानस्थल, रेल्वे स्टेसन तथा अन्तरराज्यीय बस टर्मिनल जाने यात्रुहरूलाई यात्राका लागि अतिरिक्त समय छुट्याउन पनि सुझाव दिइएको छ।

    साथै, गन्तव्य दिल्ली नभएका व्यावसायिक सवारीसाधनलाई सहर प्रवेशमा रोक लगाइएको छ।

    विमानस्थल जाने यात्रुहरूलाई मेट्रो प्रयोग गर्न विशेष आग्रह गरिएको छ, किनकि मेट्रो सेवा पूर्ण रूपमा सञ्चालनमा रहेको र कुनै अवरोध नभएको प्रहरीले जनाएको छ।

    शिखर सम्मेलनको अन्तिम दिन सदस्य तथा साझेदार देशहरूको खुला सत्रमा सहभागिता रहनेछ। प्रधानमन्त्री नरेन्द्र मोदीले सात देशका नेताहरूसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम पनि रहेको छ।

    प्रधानमन्त्री मोदीले दक्षिण अफ्रिका, कजाखस्तान, फिलिपिन्स, इजिप्ट, बुरुन्डी, युगान्डा र नाइजेरियाका नेताहरूसँग भेट गर्ने कार्यक्रम तय भएको छ।

    सम्मेलनको अवसरमा प्रधानमन्त्री मोदीले दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसासँग पनि भेटवार्ता गर्नुहुनेछ।

    यसअघि शनिबार नेताहरूले सर्वसम्मत रूपमा ‘नयाँ दिल्ली घोषणा–पत्र २०२६’ पारित गरेका थिए।

    ‘लचकता, नवप्रवर्तन, सहकार्य र दिगोपन ः समावेशी विश्वव्यापी विकासको भविष्य निर्माण’ मुलधेयका साथ जारी सम्मेलनमा खुला सत्र नयाँ दिल्लीस्थित भारत मण्डपमको समिट हलमा आयोजना हुनेछ।

    खुला सत्र भारतको अध्यक्षतामा सेप्टेम्बर १२–१३ मा आयोजना भइरहेको दुईदिने ब्रिक्स शिखर सम्मेलनको एक महत्वपूर्ण हिस्सा हो।

    यस सत्रले ब्रिक्स सदस्य राष्ट्रका नेताहरूलाई साझा चासोका विषयमा छलफल गर्ने तथा सदस्य राष्ट्रहरूबीचको सहकार्यलाई थप मजबुत बनाउने उपायहरूबारे विचार आदानप्रदान गर्ने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ। साथै, समावेशी विश्वव्यापी आर्थिक विकासलाई अघि बढाउने विषयमा पनि छलफल हुनेछ। (एएनआइ)

    प्रतिक्रिया दिनुहोस्