काठमाडौं । नेपाली कांग्रेसकी प्रमुख सचेतक वासना थापाले भोटेकोशी बाढीपहिरो प्रभावित क्षेत्रमा भइरहेको उद्धार तथा राहतको कामलाई थप प्रभावकारी बनाउनुपर्ने बताएकी छन् ।
विहीबार नेपाली कांग्रेसले आब्हान गरेको विपक्षी दलको बैठकमा भोटेकोशी बाढीपहिरोबाट प्रभावित रसुवा, नुवाकोट, धादिङलगायत जिल्लाको अवस्था, उद्धार तथा सरकारले गरिरहेको कामकारबाहीबारे छलफल भएको उनले बताइन् ।
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै थापाले भनिन्, ‘बैठक भोटेकोशीको बाढीपहिरोको सम्बन्धमा नै हो । रसुवा, नुवाकोट, धादिङलगायतका जिल्लाहरू धेरै प्रभावित भएका छन् । त्यहाँ भइरहेको उद्धार र कामकारबाहीको विषयमा छलफल गरेका छौँ । सरकारले गरेका कामहरू कतिको प्रभावकारी भएका छन् र कतिसम्म अगाडि बढाउनुपर्ने हो साथै कसरी निरन्तरता दिने हो भन्ने कुरामा पनि छलफल भयो ।’
उनले बैठकमा तय गरिएका नौबुँदे कामको कार्यान्वयनको अवस्थाबारे समेत छलफल भएको बताइन् ।
उनले भनिन्, ‘सर्वदलीय बैठक बस्दा केही बुँदाहरू बनाएका थियौँ । कामहरूका बारेमा नौं बुँदा बनाएका थियौँ । त्यो कति कार्यान्वयन भयो र कति हुन बाँकी छ साथै यसलाई अब कसरी अगाडि बढाउने भन्ने कुरामा छलफल भयो । वुधबार सत्तापक्षका सभापतिज्यूले सदनबाट भन्नुभएको विशेष संसदीय विशेष समिति गठन गर्ने भन्ने विषयमा पनि छलफल गरेका छौं ।’
प्रधानमन्त्रीको संयुक्त राष्ट्रसंघ भ्रमणका विषयमा पनि बैठकमा छलफल भएको उनले बताइन् । विपद्को समयमा स्थानीय तह र प्रदेश सरकारसमेत मिलेर काम गरिरहेको उल्लेख गर्दै थापाले सरकारले अझै प्रभावकारी ढंगले काम गर्न सक्ने बताइन् ।
सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा बसेको बैठकमा प्रतिपक्षी कांग्रेस, एमाले, नेकपा, श्रम संस्कृति र राप्रपाका नेताहरू सहभागी थिए ।



Salina Magar 




















प्रतिक्रिया दिनुहोस्