• images
    images

    भोटेकोशी बाढी प्रभावित व्यवसायीका लागि पुनरुत्थान प्याकेज स्वागतयोग्य : नाडा

    • Salina Magar Salina Magar
    • २०८३ भाद्र १९, शुक्रबार १२:२१ गते
    images
    images
    images
    images

    नेपाल सरकारले भोटेकोशी बाढी प्रभावित उद्योग, व्यापार तथा व्यवसायको पुनरुत्थानका लागि ल्याएको राहत तथा सहुलियत प्याकेजको नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले स्वागत गरेको छ ।

    सरकारले बाढी प्रभावित निजी क्षेत्रलाई लक्षित गर्दै भन्सार तथा कर छुट, कर्जा पुनर्संरचना तथा पुनर्तालिकीकरण, ब्याजदरमा सहुलियत, थप कर्जाको व्यवस्था तथा बीमा दाबी भुक्तानीलाई सहज बनाउने निर्णय गरेको भन्दै नाडाले यसलाई सकारात्मक कदम भनेको हो ।

    बाढीका कारण पूर्णरूपमा क्षतिग्रस्त वा बगाएर हराएका व्यावसायिक सवारी तथा ढुवानीका साधनको दर्ता खारेज गरी सोही प्रकृतिका साधन पुनः आयात गर्दा भन्सार महसुल छुट दिने व्यवस्था अटोमोबाइल तथा ढुवानी व्यवसायीका लागि महत्वपूर्ण राहत हुने नाडाको भनाइ छ ।

    त्यस्तै, क्षतिग्रस्त मेशिनरी तथा उपकरण पुनः आयातमा दिइएको सहुलियत र बाढी प्रभावित ऋणीलाई कर्जा पुनर्संरचना, पुनर्तालिकीकरण तथा ब्याजमा सहुलियत दिने निर्णयले व्यवसायीमाथिको वित्तीय दबाब कम गर्ने नाडाले जनाएको छ ।

    नाडा अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीले सरकारले विपद्पछि निजी क्षेत्रलाई पुनः सञ्चालनमा ल्याउन कर, भन्सार, कर्जा, ब्याज र बीमालाई एकीकृत रूपमा सम्बोधन गर्नु सकारात्मक भएको बताए।

    उनले भने, ‘विपद्पछि निजी क्षेत्रलाई पुनः उठाउन सरकारले कर, भन्सार, कर्जा, ब्याज र बीमालाई एकीकृत रूपमा सम्बोधन गर्नु अत्यन्त सकारात्मक कदम हो। यसले प्रभावित व्यवसायीलाई पुनः व्यवसायमा फर्किन महत्वपूर्ण आधार प्रदान गर्नेछ ।’

    नाडाले सरकारको निर्णय शीघ्र, सरल र प्रभावकारी रूपमा कार्यान्वयन गर्न सम्बन्धित निकायलाई आग्रह गरेको छ । साथै, वास्तविक क्षतिको अध्ययन गरी आवश्यकताअनुसार दोस्रो चरणको पुनरुत्थान प्याकेज ल्याउन पनि सरकारसँग आग्रह गरेको छ ।

    प्रतिक्रिया दिनुहोस्