काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर पक्षको सम्पर्क कार्यालय आजभोलि सुनसानजस्तै बनेको छ । राष्ट्रिय भेला हुनुअघिसम्म नेता–कार्यकर्ताले भरिभराउ हुने काठमाडौंको चुनदेवीस्थित सम्पर्क कार्यालयमा अहिले चहलपहल छैन ।
राष्ट्रिय भेलाबाट पारित निर्णयको भाषा सम्पादन गर्ने जिम्मा नेता एनपी साउद नेतृत्वको टोलीलाई दिइएको छ । उनले निर्णय सार्वजनिक गर्न केही दिन लाग्ने बताए ।
राष्ट्रिय भेलामा दुई खालका निर्णय सार्वजनिक भएका थिए । एउटा पाँचबुँदे र अर्को २० बुँदे निर्णय/प्रस्ताव थियो । त्यही निर्णयको विषयलाई लिएर नेताहरूबीच मतभेद देखिएको छ ।
नेता महतले भने पाँचबुँदे निर्णय सर्वसम्मत रूपमा पारित भएको दाबी गरे । उनले भेलामा कसैले त्यसको विरोध नगरेको बताए ।
“भेलाको निर्णय पढ्दै गर्दा सहभागी कुनै नेता–कार्यकर्ताले त्यसको विरोध गरेका छैनन्,” महतले भने ।
भेलाका क्रममा नेता विमलेन्द्र निधि र आफूबीच कुनै विवाद नभएको पनि महतले स्पष्ट पारे । कार्यक्रम चलाइरहेका दिपक कुइँकेलले निर्णय पढिरहेका बेला निधिले हस्तक्षेप गर्न खोजेपछि आफूले बस्न आग्रह गरेको उनको भनाइ छ ।
“उद्घोषक दिपकजीले भनिरहेका बेला अरूले किन हानथाप गर्ने भन्ने मेरो भनाइ थियो । उद्घोषकले मिलाएर पढ्छन् भनेर मैले उहाँलाई बस्नुस् भनेको थिएँ, तर यसलाई अर्कै रूपमा अर्थ्याइयो,” उनले भने ।
दुईबीचको विवादमा अरू नेता पन्छिँदै
साउन २९ देखि ३१ गतेसम्म काठमाडौंको सुकेधारास्थित पार्टी प्यालेसमा संस्थापनइतर पक्षले राष्ट्रिय भेला आयोजना गरेको थियो । भेलामा पार्टी एकताको सन्देश दिने गरी शीर्ष नेताहरू एउटै मञ्चमा देखिए पनि समापनतिर भने मतभेद सतहमै आयो ।
भेलाको निर्णय सार्वजनिक गर्ने क्रममा महत र निधिबीच भनाभन भएपछि अवस्था तनावपूर्ण बनेको थियो ।
अन्य नेताहरू भने आफूहरूलाई उक्त विवादमा नजोड्न आग्रह गरिरहेका छन् । “त्यो दुईजनाबीचको कुरा हो, हामी त्यसमा मुछिन चाहँदैनौँ,” उनीहरूको भनाइ छ ।
राष्ट्रिय भेलाका लागि एक ठाउँमा उभिएका नेताहरू सकिएलगत्तै आ–आफ्नै बाटो लागे । यसले संस्थापनइतर पक्षमा देखिएको एकताको अवस्थामाथि पनि प्रश्न उठेको छ ।
अर्का नेता राजु श्रेष्ठले भने पार्टीले लिएको नीतिअनुसार नै निर्णय तयार पारिएको दाबी गरे ।
“पार्टीभित्र व्यक्तिको विचार फरक हुन सक्छ तर नीति त सबैले मान्नुपर्‍यो नि । हाम्रो पार्टीमा मुस्लिम, बुद्धिस्ट अरू धर्मको पनि हुनुहुन्छ होला तर पार्टी त एउटै छ नि । पार्टीमा आएको विचारलाई हामीले सम्बोधन त गर्नुपर्यो नि,” उनले भने ।
उद्घाटनमा देखिएका शीर्ष नेता समापनमा देखिएनन्
राष्ट्रिय भेलाको उद्घाटन सत्रमा पुगेका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता डा. शेखर कोइराला समापन सभामा सहभागी भएनन् ।
भेलाको तयारी भइरहेकै बेला नेता–कार्यकर्ताले शीर्ष नेताहरूबीचको मतभेदबारे आशंका व्यक्त गरेका थिए ।
पार्टी एकता त परको कुरा, सुरुमा शीर्ष नेताहरू नै आपसमा मिल्नुपर्ने उनीहरूको धारणा थियो ।
भेलाअघि व्यक्त गरिएका त्यही आशंकाहरू अहिले व्यवहारमै देखिन थालेका छन् ।
राष्ट्रिय भेलाका लागि एक ठाउँमा आएका नेताहरू भेला सकिएको केही दिनमै अलग–अलग देखिन थालेपछि संस्थापनइतर पक्षले अघि सारेको ‘एकता’को नारामाथि नै प्रश्न उठेको छ ।
देउवाको आगमनको उत्साह पनि सेलाउँदै
साउन २८ गते नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा नेपाल फर्किंदा कांग्रेसभित्र देखिएको उत्साह अहिले क्रमशः सेलाउँदै गएको देखिन्छ ।
देउवाको स्वागतमा विमानस्थलदेखि काठमाडौंका विभिन्न स्थानमा देखिएको ठूलो भीड र संस्थापनइतर पक्षको राष्ट्रिय भेलामा देखिएको उत्साहले कांग्रेसभित्र एकताको वातावरण बन्ने संकेत गरेको थियो । तर, भेला सकिएपछि नेताहरूबीचकै विवाद र दुरीले त्यो उत्साहलाई कमजोर बनाएको छ ।
राष्ट्रिय भेलाले पार्टी एकताको सन्देश दिने प्रयास गरे । तर, भेला सकिएलगत्तै देखिएको नेताहरूको तितरबितर अवस्था र निर्णयलाई लिएर देखिएको विवादले कांग्रेसको आन्तरिक एकताको चुनौती अझै कायमै रहेको संकेत गरेको छ ।



chautaripatrika 




















प्रतिक्रिया दिनुहोस्