images
  • उपसभामुखले किशोर श्रेष्ठविरुद्ध दिएको जाहेरी अध्ययन गर्दै प्रहरी

    • chautaripatrika chautaripatrika
    • २०८३ भाद्र २, मंगलवार १४:४७ गते
    images

    ललितपुर । उपसभामुख रुबीकुमारी ठाकुरले पत्रकार किशोर श्रेष्ठविरुद्ध ललितपुर प्रहरी परिसरमा दिएको जाहेरी प्रहरीले अध्ययन भइरहेको बताएको छ ।

    श्रेष्ठ भने आफूलाई पक्राउ नगरियोस् भनी अन्तरिम आदेश माग गर्दै उच्च अदालत पाटन गएका छन् । त्यसपछि आफैँ प्रहरी कार्यालयमा उपस्थित हुने भएका छन् ।

    ललितपुर प्रहरी प्रवक्ता एसपी गौतम मिश्रका अनुसार प्राप्त जाहेरीको अध्ययनपछि जिल्ला अदालतबाट पक्राउ अनुमति माग गरिने भएको छ । श्रेष्ठ आफूलाई पक्राउ नगर्न अन्तरिम आदेश माग गर्दै उच्च अदालत पाटन पुगेका छन् । सोमबार सर्वोच्च अदालतले समाचार लेखेकै कारण पत्रकारलाई पक्राउ गर्न नमिल्ने भन्दै उनलाई रिहा गर्न परमादेश जारी गरेको थियो ।

    उनलाई प्रहरीले साउन २७ गते ललितपुर, बागडोलस्थित घर अगाडिबाट पक्राउ गरेको थियो । रास्वपा सांसद अमरकान्त चौधरीसँगको चुम्बनको दृश्य प्रकाशित गरेर वैयक्तिक गोपनीयताको हक भङ्ग गरेको भनी दिपिका सिंहले दिएको जाहेरीका आधारमा उनी पक्राउ परेका थिए ।

    सिंह आफैँले फेसबुकको वालमा अपलोड गरेको फोटो श्रेष्ठसम्वद्ध जनआस्था अनलाइनमा प्रकाशित भएको थियो । जिल्ला प्रहरी परिसर, काठमाडौंबाट मुद्दा चलाइए पनि उनलाई प्रहरी वृत्त महाराजगञ्जको हिरासतमा राखिएको थियो । उनको रिहाईको माग गर्दै पत्नी सरस्वती श्रेष्ठले दिएको बन्दीप्रत्याक्षीकरणको रिटमाथि परमादेश जारी गर्दै सर्वोच्च अदालतले रिहा गर्न भनेको हो ।

    उनी रिहा हुनुअघि नै उपसभामुख ठाकुरले जनआस्था साप्ताहिकमा आफ्नोबारेमा गलत समाचार प्रकाशित गरेको भन्दै जाहेरी दिएकी थिइन् ।

    उनले जाहेरीमा लेखेकी छन्, ‘संवैधानिक पदमा आसिन उपसभामुख जस्तो जिम्मेवार ओहोदामा रहेकी ममाथि यस्तो व्यवहार केवल मेरो पीडा मात्र होइन, प्रतिनिधिसभाको गरिमा र मुलुककै प्रतिष्ठामाथि सिधा आक्रमण हो भन्ने स्पष्ट देखिन्छ ।’

    प्रतिक्रिया दिनुहोस्