काठमाडौं । अर्जेन्टिनाका महान फुटबल खेलाडी लियोनल मेस्सी १४ वर्षपछि भारत भ्रमणमा आएका छन् । मेस्सी गएराति १ः३० बजे कोलकाता विमानस्थल ओर्लिएका हुन् ।
मेस्सी आफ्ना पूर्व बार्सिलोना टिममेट लुइस स्वारेज र अर्जेन्टिना टिममेट रोड्रिगो डे पलसहित कोलकाता आइपुगेका हुन् ।
मेस्सीले डिसेम्बर १५ सम्म तीन दिनमा चार शहरको भ्रमण गर्नेछन् । मेस्सीले कोलकातासहित हैदराबाद, मुम्बई र नयाँ दिल्लीको भ्रमण गर्नेछन् । मेस्सीले कोलकातामै बलिउड अभिनेता शाहरुख खान, बंगालकी मुख्यमन्त्री ममता बनर्जी र भारतीय क्रिकेट टोलीका पूर्व कप्तान सौरभ गांगुलीलाई भेट्नेछन् ।
आफ्नो भ्रमणको क्रममा मेस्सीले मुम्बईमा सचिन तेन्दुलकरलाई पनि भेट्नेछन् । मेस्सीले डिसेम्बर १५ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटसँगै भ्रमण सकेर फर्कनेछन् ।
मेस्सीले आज बिहान ११ः३० बजे कोलकाताको युवा भारती रंगशालामा आफ्नो ७० फिट अग्लो प्रतिमाको अनावरण गर्नेछन् । त्यसपछि मेस्सीले शाहरुख खान, गांगुली र मुख्यमन्त्रीलाई भेट्नेछन् । मेस्सीले दिउँसो १२ः३० बजे मैत्रीपूर्ण खेल खेल्नेछन् र त्यसपछि दिउँसो २ बजे हैदराबादका लागि प्रस्थान गर्नेछन् । मेस्सीले हैदराबादमा एक मैत्रीपूर्ण फुटबल खेल खेल्नेछन् र एक संगीत समारोहमा पनि भाग लिनेछन् ।
मेस्सी डिसेम्बर १४ मा मुम्बई पुग्नेछन्, जहाँ उनले वानखेडे रंगशालामा भारतीय दिग्गज खेलाडी सुनील क्षेत्रीसँग अर्को मैत्रीपूर्ण खेल खेल्नेछन् ।
मेस्सी डिसेम्बर १५ मा दिल्ली पुग्नेछन् । उनले बिहान प्रधानमन्त्री मोदीसँग भेट गर्नेछन् र त्यसपछि दिउँसो १ः३० बजे सम्मान समारोहमा भाग लिनेछन् । मेस्सी सोही दिन फर्कनेछन् ।

chautaripatrika 


















प्रतिक्रिया दिनुहोस्