• images
    images

    जापानिज एजुकेसन ग्रुप फुटसल आइतबार काठमाडौंमा हुने

    • Bishnu GC Bishnu GC
    • २०८३ श्रावण ३०, शनिबार १७:४० गते
    images
    images
    images
    images

    पहिलो संस्करणको जापानिज एजुकेसन ग्रुप फुटसल प्रतियोगिता आइतबार काठमाडौंमा हुने भएको छ।

    जापानिज भाषा अध्ययन तथा परामर्श दिँदै आएको जापानिज एजुकेसन ग्रुपको आयोजनामा बुढानीलकण्ठ नगरपालिकास्थित बालुवाखानी कपअन स्पोट्र्स सेन्टरमा प्रतियोगिता आयोजना हुन लागेको हो।

    प्रतियोगितामा १० टोलीले सहभागिता जनाउनेछन्। लिग कम नकआउटका आधारमा हुने प्रतियोगिताको विजेताले एक लाख रुपैयाँ नगदसहित ट्रफी प्राप्त गर्नेछ।

    आयोजकका अनुसार सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ।

    समूह ‘ए’ मा ज्योमोगाङ इन्टरनेसनल कन्सल्टेन्सी, ओसेवा एजुकेशनल कन्सल्टेन्सी, शिकाता एजुकेशनल कन्सल्टेन्सी, युकिगुनी एजुकेसनल कन्सल्टेन्सी र लोमस अब्रोड स्टडी प्रालि रहेका छन्।

    त्यस्तै समूह ‘बी’ मा इकिगाई एजुकेशनल कन्सल्टेन्सी, तिरुपाती एचआर सोलुसन प्रालि, कोउम्योउ इन्टरनेसनल ल्याङ्ग्वेज एकेडेमी, ओपन इन्टरनेसनल एकेडेमी प्रालि र न्यु होराइजन माइग्रेसन एन्ड एजुकेसन प्रालि रहेका छन्।

    दुवै समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन्। लिग चरणका खेल १४ मिनेटका हुनेछन् भने सेमिफाइनल र फाइनल १५ मिनेटका खेलाइने आयोजकले जनाएको छ।

    प्रतियोगिताको उपविजेताले ७५ हजार तथा तेस्रो हुने टोलीले ५० हजार रुपैयाँ नगद पुरस्कारसहित ट्रफी र मेडल प्राप्त गर्नेछन्। प्रतियोगिता फिफा रेफ्री माया लामाले सञ्चालन गर्नेछिन्।

    त्यस्तै, उत्कृष्ट खेलाडी र उत्कृष्ट गोलकिपरलाई पनि ट्रफी प्रदान गरिनेछ।

    प्रतियोगितामा प्रत्येक टोलीबाट विद्यार्थीका साथै गुरु र सञ्चालकसमेत अनिवार्य रूपमा सहभागी हुनुपर्ने व्यवस्था गरिएको छ। यसले अध्ययनरत विद्यार्थीमा अनुशासन विकास गर्नुका साथै मेहनती र अनुशासित युवा जनशक्ति निर्माणको सन्देश दिने उद्देश्य रहेको आयोजक जापानिज एजुकेसन ग्रुपका संयोजक रूपसिंह तामाङले बताए।

    प्रतियोगिता आयोजना गरेर अध्ययनसँगै खेलकुद र अनुशासनलाई जोड्न खोजिएको उनले बताए।

    प्रतिक्रिया दिनुहोस्