• images

    हिमपहिरोमा हाराएका १० जनामध्ये चार जनाको शव फेला, दुईको पहिचान

    • chautaripatrika chautaripatrika
    • २०८३ श्रावण १५, शुक्रबार १७:२९ गते
    images

    पाकिस्तानको ब्रोड पिक हिमालमा गएको हिमपहिरोमा बेपत्ता भएका पर्वतारोहीहरूको खोजीका क्रममा चार जनाको शव फेला परेको छ। पाकिस्तानी सञ्चारमाध्यम डन (Dawn) का अनुसार शुक्रबार उद्धार टोलीले चार पर्वतारोहीको शव फेला पारेको हो।

    पाकिस्तानको अल्पाइन क्लब (एसीपी) का अनुसार हिमपहिरोमा परेको १० सदस्यीय टोलीमा छ जना नेपाली, एक पाकिस्तानी, एक ओमानी, एक अमेरिकी र एक चिनियाँ पर्वतारोही रहेका थिए।

    बेपत्ता नेपाली आरोहीहरूमा विश्वप्रसिद्ध पर्वतारोही निर्मल पुर्जा, पुरबहादुर गुरुङ, किली पेम्बा शेर्पा, निमा शेर्पा, नवाङ थिन्डु शेर्पा र ग्यालु शेर्पा रहेका छन्।

    यस्तै, अन्य आरोहीहरूमा ओमानकी नाधिरा अहमद अब्दुल्लाह अल हार्थी, पाकिस्तानका सोहेल सखी, चीनका वाङ झोङ र अमेरिकाकी म्यालोरी गीस रहेका छन्।

    डनका अनुसार अल्पाइन क्लबका अध्यक्ष मेजर जनरल इरफान अर्शदले चार जनाको शव फेला परेको पुष्टि गरेका छन्। फेला परेका शवमध्ये ओमानकी नाधिरा अहमद अब्दुल्लाह अल हार्थी र नेपाली आरोही पुरबहादुर गुरुङको पहिचान भएको जनाइएको छ।

    घटनापछि उद्धार कार्यलाई तीव्र बनाइएको छ। पाकिस्तान आर्मी एभिएसनका दुई उद्धार हेलिकप्टरसहित उद्धार टोली र आवश्यक उपकरण परिचालन गरिएको अल्पाइन क्लबले जनाएको छ।

    अल्पाइन क्लबका महासचिव अयाज शिग्रीका अनुसार केही आरोहीको जीपीएस विवरणले हिमपहिरोले उनीहरूलाई करिब एक हजार मिटर तलसम्म बगाएको देखाएको छ। प्रतिकूल मौसमका कारण उद्धार कार्य चुनौतीपूर्ण बने पनि खोजी अभियान जारी रहेको छ।

    गिलगिट–बाल्टिस्तान सरकारले पनि सम्बन्धित निकायलाई उच्च सतर्कतामा रहन र पाकिस्तानी सेनासँग समन्वय गरी उद्धार अभियान प्रभावकारी बनाउन निर्देशन दिएको छ।

    प्रतिक्रिया दिनुहोस्