काठमाडौं । कान्तिपुर फिल्म एकेडेमीको पाँचौं थिएटर प्रोडक्सनका रूपमा तयार गरिएको नाटक ‘महाभारत’ यही जेठ १४ गते बिहीबारदेखि कान्तिपुर थिएटर, गैह्रिधारामा नियमित मञ्चन हुने भएको छ।
नवीन भट्टको निर्देशनमा तयार भएको यस नाटकले नेपाली रंगमञ्चको दायरा विस्तार गर्दै सबै पुस्ता र क्षेत्रका कलाकारलाई एउटै मञ्चमा समेट्ने उद्देश्य राखेको निर्माण पक्षले जनाएको छ।
नाटकमा चलचित्र, टेलिभिजन, रंगमञ्च तथा थिएटर क्षेत्रका अनुभवी र नवकलाकारहरूको संयुक्त सहभागिता रहेको छ। रमेश बुढाथोकी, मनोज गजुरेल, सुवर्ण थापा, सन्दीप श्रेष्ठ, प्रतिक चौधरी र सुप्रज्ञा शर्मा पहिलो पटक एउटै मञ्चमा देखिन लागेका छन्।
निर्माण पक्षका अनुसार नाटकको पछाडि ५० भन्दा बढी कलाकार तथा रंगकर्मीहरू सक्रिय रूपमा संलग्न छन्। यसले समग्र प्रस्तुति अझ सशक्त र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।
यसअघि कान्तिपुर थिएटरले प्रस्तुत गरेका ‘मीरा’, ‘शिरीषको फूल’, ‘महारानीको जात्रा’ र ‘सेतो धरती’ जस्ता सफल नाटकहरूबाट प्राप्त दर्शक प्रतिक्रिया र सुझावलाई आधार मानेर ‘महाभारत’ लाई अझ परिष्कृत रूपमा प्रस्तुत गर्न लागिएको हो।
टिकट बुकिङ जेठ ११ गतेदेखि खुल्नेछ। निर्माण पक्षले दर्शकहरूलाई कान्तिपुर थिएटर, गैह्रिधारामा उपस्थित भई नाटकको प्रत्यक्ष अनुभव लिन आग्रह गरेको छ।

Mahandra Bahadur Gc 















प्रतिक्रिया दिनुहोस्