नेपाली कांग्रेस केवल चुनाव जित्दा र सत्तामा बस्दा मात्रै ठूलो दल बन्ने हो? पक्कै होइन! चुनावको गणितले त केवल कानुनी हैसियत मात्रै नाप्छ। कान खोलेर सुनोस् कसैले नेपाली कांग्रेस निर्वाचन जितोस्, हारोस् या चुनावमा भागै नलियोस्, यो देशको राष्ट्रिय शक्ति हिजो पनि थियो, आज पनि हो र भोलि पनि रहनेछ!र, जब तपाईं राष्ट्रिय शक्ति हुनुहुन्छ भने, मिडियाका हेडलाइनमा के निस्कियो भनेर त्यसको पछि-पछि कुद्ने होइन! क्षणिक लाभ-हानिको घिनलाग्दो राजनीतिक हिसाब गरेर, सस्तैमा बिक्ने राजनीतिक सर्टकट खोज्ने छुट कांग्रेसलाई छैन!
राष्ट्रिय राजनीतिमा जे-जस्ता विषय उठ्छन्, त्यसमा केवल ‘रियाक्सन’ दिने लाचार पार्टी होइन कांग्रेस; बरु यो देशलाई स्पष्ट ‘डिरेक्सन’ दिने सामर्थ्य राख्ने पार्टी हो कांग्रेस! चुनाव जितेर आउने सरकारसँग शक्ति अवश्य हुन्छ। तर याद राखियोस् त्यो शक्तिको पनि एउटा सीमा हुन्छ, जुन सीमा हाम्रो संविधानले कोरिदिएको छ।सरकारलाई कानुन बनाउने अधिकार त छ, तर कुन उद्देश्यका र कसको स्वार्थका लागि कानुन बनाउने भन्ने कुरा संविधानले पहिल्यै बाँधिदिएको छ। कसैले पनि शक्तिको दम्भ देखाएर निरङ्कुश बन्ने दुष्साहस नगरोस्!अब म कांग्रेसलाई केवल पार्टी कार्यालयको चार पर्खाल र संगठनभित्र मात्र सीमित राख्न दिन्न! कांग्रेस अब ‘समाजमुखी’ हुनुपर्छ, जनताको आँसु र पसिनासँग जोडिनुपर्छ।
१४औँ महाधिवेशनबाट निर्वाचित भएका तर हाल पाखा लगाइएका नेताहरूको ठूलो पंक्तिलाई म समेट्न चाहन्छु। मेरो स्पष्ट र कडा प्रस्ताव छ जो-जो साथीहरू काम गर्न चाहनुहुन्छ, उहाँहरूलाई मान र सम्मानका साथ वरिष्ठ नेता बनाऊँ, उचित जिम्मेवारी दिऊँ र सबै मिलेर पार्टीलाई नयाँ गति दिऊँ!”नेपाली कांग्रेस अरू राजनीतिक दलहरूभन्दा किन फरक छ? किनभने हाम्रो मुख्य हतियार र साधन नै हाम्रो ‘विचार’ हो! इतिहासदेखि नै कांग्रेस वैचारिक रूपमा स्पष्ट रहँदै आएको छ। तर आज कांग्रेसमाथि अनेकौँ प्रश्न उठाइएका छन्। हामीमाथि उठ्ने ती प्रश्नहरूलाई हामीले उत्तरविहीन छोड्ने कायरता देखाउनु हुँदैन!”हामी शान्तिपूर्ण रूपमा देशमा परिवर्तन चाहने पक्षपाती हौँ। कांग्रेसलाई वैचारिक रूपमा अझ धारिलो बनाउन प्रजातान्त्रिक विचार समाजजस्ता संस्थाहरूको ठूलो योगदान छ।
स्थापनाकालदेखि अहिलेसम्म लोकतान्त्रिक विचार बोक्ने र कांग्रेसको अभियानलाई साथ दिने सबैसँग निरन्तर संवाद गरेर, पुराना र नयाँ सबै शक्तिलाई जोडेर अब हामी आँधीबेहरी जस्तै अगाडि बढ्नुपर्छ।त्यसैले, अबको नेपाली कांग्रेस क्षणिक फाइदा र सत्ताको दाउपेचमा अल्झिने छैन। यो पार्टी विचारले सुदृढ, संगठनमा एकताबद्ध र समाजमा समर्पित हुनेछ। आउनुहोस्, पत्रपत्रिकाका हेडलाइन बदल्ने होइन यो देशको भाग्य र दिशा बदल्ने नयाँ संकल्पका साथ अघि बढौँ

Bishnu GC 

















प्रतिक्रिया दिनुहोस्