जन प्रशासन क्याम्पस त्रिभुवन विश्व विद्यालय र नेपाल जन प्रशासन संघको संयुक्त आयोजनामा आइतबार ललितपुर धोविघाटमा ‘सुशासन र प्रशासनिक सुधार संवाद कार्यक्रम’ आयोजना गरियो ।सो अवसरमा ‘सार्वजनिक सेवा प्रवाह सुधार र नागरिक केन्द्रित शासन’ र ‘सार्वजनिक सेवाको डिजिटलाइजेशन र आधुनिकीकरण’ विषयक कार्यपत्रहरूमाथि गहन छलफल र संवाद गरियो।
सरकारका पूर्व सचिव कृष्णहरि बास्कोटाले ‘नागरिक मैत्री सेवा प्रवाह र सुशासनको मार्गचित्र’ अवधारणा पत्रमा संवैधानिक र कानुनी आधार, नागरिकमैत्री सेवाको अवधारणा, सेवा प्रवाहका औजारहरू, अन्तर्राष्ट्रिय अभ्यास, सुधारको मार्गचित्रलगायतका विषयमाथि चर्चा गरेका थिए ।
महासचिव डा। दिलीपराज पौडेलले सुरु गरेको प्रथम शत्रको सहजीकरण जनप्रशासन क्याम्पसका प्रमुख सुवास शर्माले गरेका थिए । प्रस्तुत कार्यपत्रमाथि टिप्पणी गर्दै जन प्रशासन क्याम्पसका उप–प्राध्यापक केशबराज पाण्डेले सिद्धान्त र व्यवहार बिचको खाडल मेटाउनुपर्नेमा जोड दिए ।
जनताको करबाट आर्जित रकमको सम्मान गर्दै कर्मचारी उत्प्रेरित हुनुपर्ने र सिंगापुर जस्तो व्यावहारिक प्रशासन नेपालमा आवश्यक रहेको औँल्याए । सोही अवसरमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सहसचिव हेमराज अर्यालले लेखिएको भन्दा पनि देखिने गरी कार्यालयहरू नागरिकमैत्री हुनुपर्नेमा जोड दिए ।‘हेलो सरकार’ मा प्राप्त ३५ सय बढी गुनासोहरूको सन्दर्भ जोड्दै उनले सरकार अब नियन्त्रणमुखी नभई सेवामुखी हुनुपर्ने र डिजिटल माध्यमबाट सरलीकरण गर्नुपर्ने बताए । साथै प्राडा प्रचण्ड प्रधानले कर्मचारीतन्त्रमा रहेको ‘फेरि अर्को मुर्गा आयो’ भन्ने सोचाइप्रति तिखो व्यङ्ग्य गर्दै प्रशासनमा मेरिटोक्रेसी र पारदर्शिताको खाँचो रहेको औँल्याए । पूर्व उपसचिव लट नारायण साहले मानव संसाधन व्यवस्थापनमा रहेको विभेद हटाउनुपर्ने र तल्लो तहका कर्मचारीलाई पनि पर्याप्त तालिम दिएर कार्यस्थलमा खटाउनुपर्नेमा जोड दिए ।
दोस्रो सत्रमा विभूषण विष्ट प्रस्तोता रहेका थिए । दोस्रो कार्यपत्रको सत्रलाई मधुरमण आचार्यले सहजकर्ताको रूपमा भूमिका निर्वाह गरे । सो अवसरमा ई–गभर्नेन्स र डिजिटलाइजेसनमा हामी कहाँ छौँ भन्ने विषयमा छलफल भएको थियो ।साथै कार्यक्रमको अन्तिम सत्रमा जनप्रशासन क्याम्पसका पूर्व प्राध्यापकहरू तथा जनप्रशासन संघका पूर्वअध्यक्षहरुलाई सम्मान गरिएको थियो ।


Bishnu GC 














प्रतिक्रिया दिनुहोस्