• भाइरलको भोकमा आफ्नै ज्यानसँग खेलवाड

    • chautaripatrika chautaripatrika
    • २०८३ बैशाख १७, बिहीबार ११:५१ गते
    images

    जमाना यस्तो आयो, अहिले केही लाइक, केही भ्युज र सामाजिक सञ्जालमा भाइरल हुनका लागि मानिसहरू आफ्नो ज्यान मात्र होइन, अरूको ज्यान समेत जोखिममा राख्न पछि पर्दैनन्। भाइरलको नशाले कतिपयलाई यति अन्धो बनाइरहेको छ कि सार्वजनिक सडक, राजमार्ग र यात्रुहरूको सुरक्षालाई समेत खेलौना ठान्न थालिएको छ। यस्तै गैरजिम्मेवार हर्कतका कारण सल्यानकी एक युवतीको अहिले आलोचना भइरहेको छ।

    सल्यानको बनगाड कुपिण्डे नगरपालिका–११ की भावना पुन मगरले सडकको बीच भागमै नृत्य गर्दै टिकटक भिडियो बनाएको दृश्य सामाजिक सञ्जालमा भाइरल बनेपछि चर्को आलोचना सुरु भएको थियो। अत्यन्त साँघुरो र जोखिमपूर्ण सडकको बीच भागमा उभिएर बनाइएको भिडियोमा पछाडिबाट आएको गाडीले उनलाई जेनतेन छलेर अगाडि बढ्नुपरेको दृश्यले धेरैलाई झस्काएको थियो।

    तर दुःखद पक्ष के छ भने यो एउटै भिडियो मात्र होइन। उनले यस्ता कैयौँ जोखिमपूर्ण भिडियो आफ्नै टिकटक आईडीमार्फत अपलोड गर्दै आएको देखिन्छ।सामाजिक सञ्जालभरि उनको आलोचना चर्किंदै गएपछि नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतका प्रमुख, प्रहरी उपरीक्षक मुकुन्दप्रसाद रिजालको निर्देशनमा सल्यान ट्राफिक प्रहरीले मगरलाई कार्यालयमै बोलाएर कडा सचेत गराएको छ। सवारी आवागमन प्रभावित पार्ने र दुर्घटनाको जोखिम निम्त्याउने यस्तो गतिविधि नगर्न भन्दै प्रहरीले उनलाई सम्झाइबुझाइ गरी छोडेको जनाएको छ।

    सल्यानका ट्राफिक प्रमुख प्रहरी नायब निरीक्षक शरद चौधरीले चौतारी पोष्टलाई बताएअनुसार, “यसरी टिकटक बनाउँदा आफ्नो मात्र होइन यात्रु र चालकको ज्यानसमेत जोखिममा पर्ने हुँदा आगामी दिनमा यस्ता गतिविधि दोहोरिए कारबाही हुन सक्छ,” भन्दै उनलाई चेतावनी दिइएको हो।प्रहरीको कार्यालयमै बोलाइएपछि भावना पुन मगरले आफ्नो गल्ती स्वीकार गर्दै अबदेखि सडकमा यस्ता जोखिमपूर्ण गतिविधि नगर्ने प्रतिबद्धता जनाएकी छन्। तर यो घटनाले केवल एक युवतीको लापरबाही मात्र देखाएको छैन, ‘भाइरल संस्कृति’ को भयावह रूप उजागर गरेको छ।

    आजकल चर्चामा आउन कतिपयले पुलको छेउमा स्टन्ट गर्छन्, कतिले व्यस्त सडकमा ट्राफिक अवरुद्ध पार्छन्। कोही उर्लँदो खोला छेउछाउ पुग्छन्, यो सिर्जना होइन, आत्मघाती प्रदर्शन हो। लाइक र फलोअर्सको नशामा विवेक हराउँदा दुर्घटनाले ढोका ढकढक्याउन धेरै समय लाग्दैन।यस्ता ठाउँमा एउटा गल्तीले केवल भिडियो बिगार्दैन, जिन्दगी बिगार्न सक्छ। क्षणिक भाइरल हुन खोज्दा स्थायी क्षति निम्त्याउने यस्ता गतिविधिमाथि अब समाज, परिवार र राज्य तीनै पक्ष गम्भीर हुन जरुरी छ।
    अहिले सामाजिक सञ्जालले अवसर दिएको छ, तर त्यही अवसरको दुरुपयोगले जोखिम पनि बढाएको छ। टिकटक, फेसबुक, इन्स्टाग्राम, युट्युब जस्ता प्लेटफर्म प्रतिभा देखाउने माध्यम हुन्, ज्यान जोखिममा राखेर चर्चित बन्ने ठाउँ होइनन्। आज ‘कन्टेन्ट’ बनाउने नाममा धेरैले चेतना गुमाउँदै गएका छन्। खतरनाक लोकेसन, जोखिमपूर्ण स्टन्ट, सडकमा अवरोध, रेल ट्र्याकमा भिडियो, खोला किनारमा रिल—फेरि पनि भन्छौँ, यी सिर्जनशीलता होइनन्, दुर्घटनालाई बोलाउने निम्तो हुन्।
    अर्को कुरा, प्रत्येक प्रयोगकर्ताले बुझ्नुपर्ने कुरा के हो भने सामाजिक सञ्जालमा भाइरल भएको हरेक भिडियो प्रेरणा हुँदैन, कतिपय चेतावनी पनि हुन्छन्। क्षणिक चर्चाले दीर्घकालीन सुरक्षा दिन सक्दैन। हामी सधैँ जिम्मेवार हुनुपर्छ। किनकि तपाईंको एउटा भिडियो हेरेर अर्कोले पनि त्यही नक्कल गर्न सक्छ।

    विशेषगरी युवापुस्ताले सामाजिक सञ्जाललाई प्रयोग गर्ने तरिका बदल्न जरुरी छ। सकारात्मक कन्टेन्ट बनाऔँ, सन्देशमूलक भिडियो बनाऔँ, कला देखाऔँ, सीप देखाऔँ, तर ज्यान जोखिममा राखेर होइन। मनोरञ्जनको नाममा मृत्युको खेल खेल्नु बुद्धिमानी होइन। भाइरल हुनुभन्दा मूल्यवान् सुरक्षित रहनु हो।अभिभावकले पनि आफ्ना छोराछोरी के बनाइरहेका छन्, कस्ता ट्रेन्ड पछ्याइरहेका छन् भन्ने निगरानी गर्न आवश्यक छ। समाजले पनि गलत ट्रेन्डलाई ताली होइन, प्रश्न गर्नुपर्छ। किनकि गलतलाई ‘कूल’ मान्ने संस्कृतिले ठूलो दुर्घटना निम्त्याउँछ। ‘कन्टेन्ट’ बनाउँदा जिम्मेवारी, संवेदनशीलता र सुरक्षा पहिलो सर्त हुनुपर्छ।

    सामाजिक सञ्जाल चलाऔँ, तर सुरक्षित रूपमा चलाऔँ। भ्युजको लोभमा जीवन जोखिममा नहालौँ। ट्रेन्ड पछ्याउनुभन्दा सही बाटो रोजौँ। भाइरल हुन खोज्दा दुर्घटनाको समाचार नबनौँ। सुरक्षित कन्टेन्ट बनाऔँ, जिम्मेवार प्रयोगकर्ता बनौँ, अरूलाई पनि सचेत बनाऔँ। लाइकले ज्यान फर्काउँदैन, फलोअर्सले दुर्घटना रोक्दैनन्। सामाजिक सञ्जालले चिनाउँछ, तर लापरबाहीले समाप्त पनि पार्न सक्छ। त्यसैले एउटा कुरा सधैँ सम्झौँ—भाइरलभन्दा जीवन ठूलो हो, ट्रेन्डभन्दा सुरक्षा ठूलो हो, र क्षणिक चर्चाभन्दा जिम्मेवार नागरिक बन्नु ठूलो हो।

    प्रतिक्रिया दिनुहोस्