• images

    प्रधानमन्त्री कार्कीको ६ महिने अनुभव : सचिवहरू फनफनी घुमाइरहँदा रहेछन्, काम नहुनुमा ७५% दोषी

    • Bishnu GC Bishnu GC
    • २०८२ चैत्र १, आईतवार १७:३१ गते
    images

    प्रधानमन्त्री सुशीला कार्कीले सबैभन्दा ठूलो सुधार सिंहदरबारभित्र गर्नुपर्ने आफूले देखेको बताएकी छन् ।
    राष्ट्रिय समाचार समितिसँगको कुराकानीमा त्यहाँ काम गर्ने कर्मचारीहरूमा राजनीतिकरण हुने गरेको देखिएको प्रधानमन्त्रीले बताएकी छन् ।
    ‘हरेक कामलाई सचिवहरू फनफनी घुमाइरहँदा रहेछन्। आफ्नो स्वार्थको कुरामा दुई तीन वटा विकल्प ल्याउँछन्, आफ्नो स्वार्थको कुरा छैन र देशको कुरा छ भने त्यो हुँदैन र मिल्दैन मात्र भन्ने । अख्तियार देखाउने । केही सीप नलागे विवादमा परिन्छ हजुर भन्ने। त्यो मैले रद्दी देखेको छ ु। सरकारको काममा ७५ प्रतिशत असर त्यहाँबाट परेको छ,’ उनले कुराकानीमा भनेकी छन् ।
    नयाँ सरकारले सबैभन्दा पहिला जेनजीले राखेका तीन वटा माग पूरा गर्नुपर्ने धारणा राखेकी छिन् । सुशासन कायम, भ्रष्टाचार नियन्त्रण र रोजगारीको व्यवस्था पूरा गर्नुपर्ने उनको भनाइ छ । समयमा कुनै परियोजना पूरा नहुने अवस्था विद्यमान रहेको उनले बताएकी छन् ।
    ‘नेपाली हो भने त पीर पर्नुपर्छ नि । आज म दुःखपूर्वक भन्दै छु, हामीले कुनै सहयोग पाएनौं । तर हामीले पूर्ण व्यावसायिक स्वतन्त्रताका साथ काम गर्न प्रेरित गरेपछि यसबीचमा अख्तियारले केही ठूला मुद्दा अघि बढाएको छ । ४०–४५ थान भ्रष्टाचारका मुद्दा यही सरकार आएपछि दर्ता गरेको छ । अन्यथा कतैबाट सहयोग भएन। कर्मचारीतन्त्र चुस्तदुरुस्त हुनुपर्छ । ठूलो क्रान्तिकारी कदम नै अब कर्मचारीतन्त्र सुधारका लागि चाल्नु आवश्यक देख्दछु । अहिलेकै तरिकाले त राम्रो छवि ल्याउने देखिँदैन,’ उनले भनेकी छन् ।
    प्रधानमन्त्री कार्कीले आफूले विषम परिस्थितिमा प्रधानमन्त्री भएर जुन काम गर्नुपर्ने हो, त्यो पूरा गरेको उनले भनेकी छन् । उनले आफू अब पुरानै निजी दैनिकीमा फर्किंने पनि बताएकी छन् ।
    राष्ट्रपति हुने भन्ने पनि चर्चा छ नी भन्ने राससको जिज्ञासामा उनले अब अरु कुनै मोह नरहेको बताएकी छन् ।
    ‘मभन्दा लायक र अवसर नपाएका मान्छे अरू पनि धेरै हुनुहुन्छ। सरकारलाई निर्वाचन गराउने जिम्मेवारी थियो । त्यो पूरा भयो ।
    विकासका क्षेत्रहरुमा पनि केही प्रयास भएका छन् । नयाँ सरकारले देशका युवालाई रोजगारी दिनुपर्छ। देशमा बस्ने वातावरण बनाउनुपर्छ । विदेश गएर बाकसमा फर्कनुपर्ने अवस्थाको अन्त्य होस्। शिक्षामा सुधार जरुरी छ । देशप्रति विश्वासको वातावरण बनाउनैपर्छ। प्राकृतिक स्रोतसाधनका हिसाबले अन्यन्तै सुन्दर देश छ,’ उनको भनाइ छ ।

    प्रतिक्रिया दिनुहोस्